यी हुन् ग्ल्यामर क्षेत्रका १० चर्चित अविवाहित पुरुषहरू

Leaderboard Banner

भनिन्छ, विवाहका लागि साइत जुर्नुपर्छ । कतिपय मानिस विवाहको जोडी भगवान्ले नै तय गर्ने कुरा बताउँछन् । योग्य वर अथवा बधू फेला नपरेकाले विवाह नगरी बस्नेहरू पनि उत्तिकै हुन्छन् । कुनै बेला विवाहको जग्गेमा मात्र श्रीमान्–श्रीमतीले एक–अर्काको अनुहार हेर्ने परम्पराबाट हुर्किएको नेपाली समाज सामाजिक सञ्जालको प्रयोगसँगै विवाहअघि नै लिभिङ टुगेदर बस्नेसम्मको चरणमा प्रवेश गरिसकेको छ । यद्यपि विवाह भनेको विवाह नै हो । यसले दुई शरीरलाई मात्र होइन, दुई मनलाई समेत जोड्छ । हामीले पछिल्ला केही वर्षयता हरेक वर्ष ग्ल्यामर क्षेत्रमा भित्रिने नयाँ अनुहारमध्ये अविवाहित अनुहारहरूका बारेमा जानकारी गराउँदै आएको छ ।

स्वप्निल सुमन

युट्युबले जन्माएका स्टारहरूमध्ये एक हुन्— गायक स्वप्निल सुमन । उनको वास्तविक नाम सुमन थापा हो, जो सन् २०१२ देखि यूट्युबमा स्वप्न सुमनको नामबाट सक्रिय छन् । स्वदेश तथा विदेशका कन्सर्टमा समेत सहभागिता जनाइरहेका यी गायकले गाएको तिहार विशेष गीत नेपाल युट्युबको ट्रेण्डिङमा परेको थियो, जसमा उनले चलचित्र उपहारको लौ न मायालुको देशमा तथा विपुल क्षेत्रीको फर्की आयो असारलाई म्यासअप गरेका थिए । सुमनले सुन भन न, उकाली चढौंला, सानु म, मोहनी लाग्ला है, छिट्को गुन्यु, ए कान्छा ठट्टैमा आदि गीतका कभर भर्सनबाट लोकप्रियता हासिल गरेका हुन् । यी गायकको वास्तविक गीत ‘कसरी भनौं’ को लिरिकल भिडियो युट्युबमा १ करोड १४ लाख पटक हेरिएको छ । यही गीतबाट उनी नेसनल म्युजिक एवार्डको उत्कृष्ट नवप्रतिभा विधामा मनोनीत समेत भएका थिए ।

निशान भट्टराई

नेपाल आइडलका उपविजेता हुन्— गायक निशान भट्टराई । झट्ट हेर्दा कुनै मोडल अथवा अभिनेता जस्ता देखिने अविवाहित भट्टराईमा पनि हरेक विधाका गीत गाउन सक्ने क्षमता छ । भट्टराईले नेपाल आइडलमा पाएको सफलतापछि आफ्ना केही ओरिजिनल गीतसमेत श्रोतामाझ ल्याइसकेका छन् । ती गीतमा समेत उनी उत्तिकै कर्णप्रिय सुनिएका छन् । सांगीतिक कार्यक्रमका सिलसिलामा स्वदेश तथा विदेश भ्रमण गरिसकेका भट्टराईलाई युवतीहरूले अत्यन्तै मन पराउँछन् । कन्सर्टमा उनका गीत सुन्ने दर्शक एकातिर हुन्छन् भने अर्कातिर उनलाई हेर्न तथा सेल्फी खिच्न चाहने युवतीहरूको संख्या पनि उत्तिकै हुन्छ ।

सलिनमान बानियाँ

अभिनय गरेको पहिलो चलचित्रबाटै स्थापित हुने थोरै अभिनेताहरूमा सलिनमान बानियाँ पनि एक हुन् । यसै वर्ष प्रदर्शित अभिनेत्री झरना थापाको चलचित्र ‘ए मेरो हजुर–२’ मार्फत रजतपटमा आएका यी अभिनेताले यही चलचित्रबाट लोकप्रियता हासिल गरे । युवतीहरूमाझ लोकप्रिय यी अविवाहित अभिनेताले हालसम्म दोस्रो चलचित्रमा अभिनय गर्ने जाँगर चलाएका छैनन्, यद्यपि उनले थुप्रै चलचित्रबाट अभिनयको प्रस्ताव पाइरहेका छन् । आफ्नै व्यवसायमा आबद्ध हुने निर्णय गरेका कारण यी हेन्डसम अभिनेतालाई भविष्यमा चलचित्रको पर्दामा देख्न पाइने सम्भावना कमै छ ।

कबिर खड्का

यतिबेला चलचित्र लम्फू चर्चामा छ । चलचित्रको लिरिकल भिडियोले श्रोताहरूको मन जितेपछि यो चलचित्र दर्शकहरूको प्रतीक्षाको सूचीमा छ । तरकारीवाली अर्थात कुसुम श्रेष्ठले समेत अभिनय गरेको यो चलचित्रका मुख्य अभिनेता हुन्— कबिर खड्का । पहिलो चलचित्रमै यी अभिनेताले प्रतिभाशाली अभिनेत्री मरिष्का पोखरेलको साथ पाएका छन् । ६ फिट अग्ला खड्का रंगमञ्चका कलाकारसमेत हुन् । फेसन शोमा क्याटवाक तथा विज्ञापनमा मोडलिङ गरिसकेका यी अविवाहित अभिनेतालाई युवतीहरूले पछ्याउन थालिसकेको उनको सामाजिक सञ्जालबाटै थाहा पाउन सकिन्छ ।

विनोद न्यौपाने

५ फिट १० इन्च अग्ला विनोद न्यौपाने हालसालै प्रदर्शनमा आएको अभिनेत्री श्वेता खड्काको चलचित्र कान्छीमा खलनायकको भूमिकामा देखा परेका हुन् । न्यौपानेले दर्जनौं म्युजिक भिडियोमा नायकका रूपमा अभिनय गरिसकेका छन् । प्रसन्न पौडेलको चलचित्र कमलेको बिहेमा सह–अभिनेताका रूपमा अभिनय गरेका विनोदले विशाल भण्डारी निर्देशित चलचित्र कोहलपुर एक्सप्रेसमा अभिनय गरेका छन् । न्यौपाने चलचित्र जयश्री दाममा पनि प्रस्तुत भैसकेका छन् । यी अविवाहित अभिनेता यतिबेला चलचित्र सुश्री सम्पत्तिमा अभिनय गरिरहेका छन् । वर्ष २०७५ मा उनले अभिनय गरेका झन्डै आधा दर्जन चलचित्र प्रदर्शनमा आउने निश्चित छ ।

बुद्ध लामा

गायनमा आधारित रियालिटी शो नेपाल आइडलमा सहभागिता जनाएदेखि नै गायक बुद्ध लामा चर्चामा रहे । झन्डै ६ महिना चलेको गायन प्रतियोगितामा विजेता नै भएपछि उनको चर्चा चुलियो । नेपाल आइडलको उपाधिसँगै स्वदेश तथा विदेशका सांगीतिक कार्यक्रममा सक्रिय यी गायकको स्वर मात्र सुमधुर छैन, व्यक्तित्व समेत उत्तिकै आकर्षक छ । गायनमार्फत नै लामाले थुप्रै प्रशंसक कमाएका छन् । लामा लाखौं श्रोता तथा दर्शकको मायाले सांगीतिक उचाइ छुन सफल हुने बलियो सम्भावना छ । लामा शास्त्रीय, आधुनिक तथा पप शैलीका गीत उत्तिकै मिठासपूर्ण शैलीमा गाउन सक्छन् ।

स्वरूपपुरुष ढकाल

५ फिट ९ इन्च अग्ला चलचित्र अभिनेता हुन्— स्वरूपपुरुष ढकाल । यी अविवाहित अभिनेताले यही वर्ष प्रदर्शित चलचित्र छक्कापञ्जा–२ मा अभिनय गरेका छन् । यो चलचित्र सफल भए पनि स्वरूपले जति चर्चा पाउनु पर्ने हो, त्यति पाएनन् । उनी पुराना तथा लोकप्रिय अनुहारहरूको बीचमा हराए । त्यसअघि उनले चलचित्र सुस्केरामा पनि अभिनय गरेका थिए । गायकका रूपमा समेत करियर प्रारम्भ गरेका स्वरूपले भारतको मुम्बईबाट अभिनय तथा संगीतको प्रशिक्षण लिएका छन् । प्रशिक्षणका क्रममा उनले कभर गीतहरूसमेत गाएका छन् । ये साम मस्तानी गीतमा पनि उनको कभर स्वर सुन्न सकिन्छ । छक्कापञ्जा–२ पछि अन्य चलचित्रमा नदेखिएका यी अभिनेताले गायन तथा अभिनयमध्ये कुन विधामा आफूलाई अघि बढाउने हुन्, हेर्न बाँकी नै छ ।

विक्रान्त मेहता

यी हेन्डसम युवा दुई भिन्न विधामा स्थापित हुने प्रकृयामा छन् । चिकित्सा पेसामा आबद्ध मेहता गायक पनि हुन् । वीर अस्पतालको ट्रमा सेन्टरमा चार वर्ष सेवा गरेपछि यतिबेला उनी चिकित्सा शास्त्रमा स्नातकोत्तर गर्दैछन् । गायकका रूपमा समेत पहिचान बनाइसकेका मेहताले आफ्ना गीतका म्युजिक भिडियोमार्फत दर्शक–श्रोताहरूको मन जित्दै आएका छन् । रमाइलो कुरा के छ भने यी गायकले आफ्ना म्युजिक भिडियोमा अभिनेत्रीहरूसँग आफैंले अनस्क्रिन रोमान्स गरेका छन् । हालै सार्वजनिक भएको आफ्नो नयाँ गीत ‘तिम्रो आँखा’ मा यी अविवाहित गायकले अभिनेत्री प्रियंका कार्कीसँग रोमान्स गरेका छन् भने यसअघिको ‘फूलको सुवास’ गीतमा उनले केकी अधिकारीसँग रोमान्स गरेका थिए । दुई वर्षअघि सार्वजनिक भएको ‘तिम्रै तिम्रो…’ गीतको भिडियोमा भने उनलाई अभिनेत्री शिल्पा पोखरेलले साथ दिएकी थिइन् ।

अजर जंगम

पुराना संगीतकार दीपक जंगमका छोरा हुन्— गायक अजर जंगम । पछिल्ला केही वर्षयता अजरले आफ्नो गायकी मार्फत दर्शक तथा श्रोताको मन जित्दै आएका छन् । आकर्षक व्यक्तित्वका धनी यी गायकले ‘आज फेरी एकान्तमा…’ गीतबाट ख्याती आर्जन गरेका छन् । यही गीतबाट अजरले हालै वितरित नेसनल म्युजिक एवार्डमा सर्वोत्कृष्ट आधुनिक गायकको एवार्ड समेत हात पारेका थिए । यी अविवाहित गायकले कम समयमै आफ्नो छुट्टै पहिचान बनाएका छन् । आफ्ना केही गीतका म्युजिक भिडियोमा आफैंले अभिनय समेत गरेका अजर सुगम संगीतका गीतमा उत्कृष्ट सुनिन्छन् ।

प्रताप दास

नेपाल आइडलमा तेस्रो स्थान हासिल गर्न सफल हेण्डसम गायक हुन्– प्रताप दास । नेपाल आइडलमा सहभागिता जनाउनु अघिदेखि नै गायनमा सक्रिय प्रताप दासले केही नेपाली चलचित्रमा पाश्र्व गायन समेत गरिसकेका छन् । नेपाली तारा–३ को चौथो चरणसम्म पुगेका ललितपुरका यी गायकले चलचित्र नाइँ नभन्नु ल–३ को अलिकति स्वीट तथा चलचित्र प्रेमगीत–२ को मोटरसाइकलमा…जस्ता गीतबाट श्रोता तथा दर्शकको मन जितिसकेका छन् । नेपाल आइडलमा गायनका साथै आकर्षक व्यक्तित्वका कारण समेत दर्शकको मन जितेका यी प्रतिभाशाली गायक पनि हालसम्म अविवाहित नै छन् ।

(साप्ताहिक नामक साप्ताहिक पत्रिकाबाट)

प्रकाशित : सोमबार, बैशाख ०३, २०७५०९:४४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

कन्डम लगाउन मान्दैनन् ग्राहक