केटीहरु चप्पल हातमा लिएर रुँदै भागिरहेका थिए…………….

Leaderboard Banner

शोभा के सी
सुन्दा सबैलाई अचम्मै लाग्न सक्ला तर यथार्थ कुरा यही हो । २०७२ साल वैशाख १२ गते आएको विनाशकारी भूकम्पले धेरै जनधनको क्षति गर्यो । हजारौं घरबार बिहिन भए हजारौले आफ्ना आफन्त गुमाए । त्यसैका लागि यो दिनलाई सरकारले नै कालो दिनका रुपमा मनाउने घोषणा पनि गर्यो । तर यी सबै कुरा मलाई थाहा भईदियो भए मलाई रमाईलो लाग्दैनथ्यो होला तर बिडम्बडा ।
वैशाख १२ गतेको दिन बिहानै उठेपछि नै मलाई आजको दिन खल्लो खल्लो महसुस भईरहेको थियो । के नपुगेको हो कि के नमिलेको हो । म आँफैलाई नै थाहा थिएन । काठमाडौं भर्खर भर्खर आएको म हुनत विभिन्न काम विशेषले पटक पटक काठमाडौं आए पनि यो पटक भने यतै बस्ने हिसाबले नै आएको थियो । शनिवारको दिन थियो । काठमाडौंका बारेमा जति थाहा भएन प्रत्यक्ष आफ्ना आँखाले नै अवलोकन गर्ने मन लागेको थियो । त्यसैले घुम्न जाने योजनामा थियौ ।
११ बजेको थियो सायद अब जाउ भनेर तयार भएर निस्कने के लागेका थियौ मलाई एक्कासी ज्वरो आएको जस्तो भयो । सहनै नसक्ने गरी टाउको दुख्यो म बाहिर हिड्नसम्म नसक्ने अवस्था भयो । म एक्लै घरमा बस्ने कुरा भयो । फेरी आफ्नो स्वास्थ्य अवस्थाले नसक्दा पनि मलाई घरमा बस्न मन भने लागेन म पनि घुम्नलाई हिँडे । बसाँई कीर्तिपुर थियो । कीर्तिपुरबाट गाडी चढेर बल्खु पुग्दै थियौं । भर्खरै काठमाडौं आएको यहाँको हावा पानी पनि मेरा लागि नौला र अपरिचित थिए । बसको झ्यालबाट बाहिरको वातावरण यहाँका मान्छेहरु मेरा आँखाले निहालिरहेको थियो ।
बल्खुबाट अर्को बस चढेर हामी कलंकीका लागि हिड्यौं । बल्खुबाट अलिकति बस के अगाडी बढेको थियो । आकाश कालो निलो भयो । गाडी यसरी हल्लायो सायद त्यो अनुभव मेरो जिन्दगीका लागि एकदमै नौलो थियो । सञ्चारकर्मी भएकाले विदेशमा भूकम्प गएका समाचार लेख्न र पढ्ने पनि मैले नगरेको होइन जब गाडी नै पल्टाउला जस्तो गरि हल्लाउँदा मलाई रमाईलो महशुस भयो, सुन्दा नराम्रो लाग्न सक्छ यथार्थ यहि थियो । मलाई भूकम्प हो यसबाट धन जनको क्षति हुन्छ भन्ने कति पनि लागेको थिएन ।
यसो बाहिर हेर्दा केटी साथीहरु हातमा चप्पल समातेर धुलै धुलो भएर कति बेला भुईमा लड्ने कति बेला उठ्ने रुने कराउने गरेको मेरा आँखाले देख्यो । सुनेको थिए काठमाडौंमा दिनमा नै लागू पदार्थ सेवन गरेर बारलिदै हिड्छन् भनेर यस्तो गर्दा रहेछन् भन्ने लाग्यो । पछि यसो बसको अगाडी तिर हेर बाटोमा मोटरसाईकलहरु लडिरहेको देखें । यो मन कस्तोसम्म सोच्न सक्छ, बसले मोटरसाईलाई ठोक्यो मान्छे मार्न खोज्दैछ त्यसैले बस यसरी हल्लाई रहेको छ । मन चिसो भयो । फेरी त्यसो पनि रहेनछ । के भएको होला भन्ने कौतुहल्ताले मेरो मन अब भने भत्भति पोल्न थाल्यो । मेरो नजिकै बस्ने एक जना दाजुले भूकम्प भनेपछि मेरो मन, मेरो शरिर मसँग छ या छैन बल्ल मलाई डर लाग्यो । अनि बसबाट तल के झरेको थिए । चारैतिरबाट मान्छे रोएको कराएको सुने, आँखै अगाडी घरहरु ढलेको देखे मान्छेहरु रगतै रगत भएको देखे अनि बल्ल थाहा भयो मलाई भुकम्प हो भनेर ।
यसले मान्छेको ज्यान लिन्छ । र लियो पनि । त्यस्तो समय जुन समयमा कसैले पनि बाच्छौ भन्ने कल्पना समेत गर्न सकिरहेको थिएन तर त्यो पल गाडीका सहचालक दाजुहरु भने आफ्नो फाईदाका लागि नै काम गरेका देखे । सुनेको थिए यो काठमाडौ शहर गिद्धैगिद्धैको शहर हो । न यहाँ कसैलाई कसैको मतलव हुन्छ न वास्ता । त्यो सबैलाई कहाँ जाउ के गरौ भनेर आत्तिरहेका बेला भूकम्प आए लगत्तै मानिसहरु कस्तो अवस्थामा बाहिर निस्केका छन् आफ्ना आफन्त कहाँ जान हतारिएका छन् । तर त्यो कसले बुझ्ने भाडा दिनुस भनेर गाडीको सहचालकले गाली गरेको सुन्छु ।
कतै पानी पानी भनेको सुन्छु कतै आमा, कतै बाबा आदि इत्यादी शब्द बाहेक मेरो कानले केहि सुनेको छैन् । त्यतीकैमा मैले मोबाईल निकालेर मेरा सबै परिवारलाई हामी सुरक्षित छौ भनेर म्यासेज पठाए अनि सबै जना आत्तिरहनुभएको रहेछ । बारम्बार हल्लाउन थाल्यो । सबैलाई हेर्छु । सबैले भगवानसँग प्राथना गरिरहेको देख्छु । मलाई न बोल्ने शब्द नै आयो न त कुनै भगवान सँग प्राथना नै गर्न मन लाग्यो । न मेरो आवाज आयो न म कसैसँग कुरा गर्न सके न रुन न कराउन टोलाएर बस्नु बाहेक विकल्प केही देखिएन । घरबाट आएको पनि धेरै भएको छैन मम्मी, बुवा, भाइ, बहिनी सबै घरपरिवार एकातिर म एता मनले त्यो पल के सोच्थ्यो । हुने कुरा होइन नहुने कुरा नै धेरै सोच्ने ग¥यो ।
यतिकैमा साँझ प¥यो त्यो बेला धेरै मानिसको ज्यान गइसकेको कुरा मेरा कानले सुनेको थियो र आँखाले पनि देख्यो । साँझ गहुँ बारीमा सुतियो रातभर हैलाईरह्यो यति मान्छे मरे यति घर ढले बाहेक दोस्रो कुरा सुन्नु छैन । भोलीपल्ट बिहान उज्यालो भयो बारीमै बसियो कम्तीमा पनि घडीमा दिउसोको १ बज्न थालेको हुनुपर्छ त्यो समयमा मनमैजुको अल्ली भिरालो डाँडो जस्तो भएको जग्गामा बसिरहेका थियो । त्यती बेला तत्कालिन प्रधानमन्त्री सुशिल कोईरालाले जनताको नाममा सम्बोधन गर्ने थाल्नुभएको थियो रेडियो सुनिरहेकी थिए ।
एक्कासी फेरी नराम्रो सँग हल्लायो । मेरो वरीपरी सयौं मान्छेहरु बसेका थिए । सबै आतिए जस्तो गर्न थाले बेला बेला धक्का दिईरहेको भएर पनि होला तर खासै उनीहरु डराएको जस्तो मानिन तर म भने समालिन सकिन सबै मान्छेको अगाडी लाचार जस्तो भएर यति रोए लाग्दैन अब जिन्दगीको कुनै पल त्यस्तो आउछ र त्यो बेलाको जसरी रुन पर्छ । मेरो दाजु र श्रीमान खानेकुरा लिन भनि जानुभएको थियो । उहाँहरु जाने बिक्तिकै यस्तो हल्लाए पछि मेरो मनले के सोच्न पुग्यो बाटोमा हिड्दा हिड्दा घर ढलेर मान्छे मरे भन्ने सुनेको फोन लाग्दैन मान्छे आउँदैनन् मसँग रुन र कराउन बाहेक कुनै बिकल्प नै थिएन ।
सबैले मलाई नै हेरिरहेका थिए । नरुनोस भन्थे उनीहरु सबै मलाई नै हेरेर रोईरहे सबै जना । एकछिन पछि हल्लाउन छोड्यो अनि माहोल केही शान्त भयो । जिन्दगीमा कहिले पनि भुल्न नसकिने त्यो पल मेरा लागि मात्र होईन सारा नेपालीहरुका लागि हो ।

प्रकाशित : शनिबार, फागुन २६, २०७४१६:३५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

हेरिरहुँ लाग्ने हुम्ला- मनै लाेभ्याउने सुन्दर तस्बिरहरू