बझाङका बादी महिलाको व्यथा

Leaderboard Banner

 ललित सिंह

बझाङ, १५ फागुन । अन्य समुदायको तुलनामा बझाङ जिल्लाका बादी समुदायको कथा दुखदायी छ ।

दैनिक के खाउँ र के लाउँ भन्ने पीडामा रुमल्लिएका बादी समुदायका महिला आफ्ना साना नानीलाई बाबा मीठो खाने कुरा लिएर आउने आशमा आफ्ना साना नानीलाई थुमुथुम्याएर राख्छन् । बूढापाका पनि आफ्ना छोराले केही ल्याउँछ की भनी झुपडी कुरिरहन्छन् । थाहा छैन उनीहरूलाई सारङ्गी रेटेको भरमा कति कमाइ हुने हो । कमाएको पैसा नून तेलमै सकिन्छ छोराछोरीको शरीर ढाक्न त कठिन भएको उनीहरूलाई पढ्ने र पढाउने त धेरै टाढाको कुरा हो । सदरमुकाम चैनपुरका पदम बादीसंग गरिएको जिज्ञासामा उहाँ गीतबाटै आफ्नो पीडा यसरी सुनाउनुहुन्छ, “कष्ट भयो बालबच्चा पाल्न सकिएन नदीमा हाम पनि फाल्न ।”

सरकारले २०६५ सालमा बादी समुदायका महिलालाई यौनशोषणमुक्त र पुनःस्थापनाको घोषणा गरे पनि अहिलेसम्म त्यसको कार्यान्वयन हुन सकेको छैन । बादी समुदायका महिलाले २०६४ भदौ १ देखि ४८ दिनसम्म अधिकारका लागि सिंहदरबार पश्चिमढोका अगाडि अर्धनग्न जुलुस निकालेर संघर्ष गरेपछि २०६५ पुस २३ गतेको मन्त्रिपरिषद्को निर्णयले उनीहरूलाई यौनशोषण मुक्त गर्नाका साथै पुनःस्थापना समेत गर्ने घोषणा गरेको थियो तर घोषणा भएको आठ वर्ष बितिसक्दासमेत त्यसको कार्यान्वयन हुन नसक्दा देशका विभिन्न ठाउँमा बस्दै आएका बादी समुदायले अझैसम्म समस्या झेल्दै आएका हुन् ।

पुनःस्थापना नहुँदा अहिले पनि कतिपय बादी समुदायका महिलाले जीविकोपार्जनका लागि लुकीछिपी देह व्यापार गर्न बाध्य भएको अधिकारकर्मीको भनाइ छ । बादी समुदाय उत्थान विकास समितिका निवर्तमान उपाध्यक्ष पुष्प बादीले पुनःस्थापना नहुँदा उनीहरू अहिले पनि ऐलानी जग्गा, खोलाको किनार, सडकको छेउ र जंगलको छेउमा बसोबास गर्न बाध्य भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अहिले करिब ४० प्रतिशत बादी परिवार घरबारविहीन भएका र बाँकी ६० प्रतिशत ऐलानी जमिनमा बसोबास गर्दै आएका छन् ।” जातीय रूपमा चरम छुवाछूत र विभेद भोगिरहेको बादी समुदायले दलित समुदायभित्र पनि सबैभन्दा बढी विभेद भोग्नुपरेको छ ।

दाङ, कैलाली, सल्यान, रोल्पा, बर्दिया, सुर्खेत, बझाङ, बाँकेलगायतका जिल्लामा बादी समुदायको बसोबास छ । सो समुदायको उत्थानका लागि राज्यबाट अर्धनग्न जुलुसमा चर्चामा आउनुभएकी राष्ट्रिय बादी अधिकार संघर्ष समितिकी अध्यक्ष उमादेवी बादीले सरकारले पुनःस्थापनाको नाममा यसरी नै आफूहरूलाई आलटाल गरिरहे पुनः कडा संघर्ष गर्ने चेतावनी दिनुहुन्छ । श्रीमान् हुनेहरू सारङ्गी बजाएर घर खर्च जुटाउँछन् तर श्रीमान् नभएकाहरूको कथाव्यथा भने झनै दुःखदायी छ । ज्याला मजदुरी मिले पनि रु १०० देखि रु २०० भन्दा बढी नदिने भएकाले उनीहरू देह व्यपारमा लोगको बताउनुहुन्छ चैनपुरकी राधा बादी ।

बादी समुदायको गुनासो छ, ”न हामीलाई सरकारले हेर्छ न जिल्ला सरकारले हेर्छ हाम्रो नाममा आएको बजेट जिल्लाका ठूला नेता भनाउँदाले जानकारी नै नदिइ खाएका छन् । अहिले राज्यमा दलित कोटा, पिछडिएका कोटा सबै छन् तर हामीले भने यो कोटा कहिल्यै पनि पाउन सकिरहेका छैनौँ कतै काम गर्न गइयो भने आई बदेनी भनेर हेला गरिन्छ ।” गरिबको मुक्तिका निम्ति काम गर्नु परेको भन्दै राता कपडामा ठूला अक्षरले नारा लेख्दै नारा जुलुस गर्नेहरूले उनीहरूकै अभावलाई बेचेर ठूलाठूला महल खडा गरिसकेका छन् तर गरिब निमुखा दलित बादीको जीवनमा भने कुनै परिवर्तन आएको छैन ।

बझाङको सदरमुकाम चैनपुरको बादी बस्तीमा बस्नेहरूको आँगन करेसाबारीसमेत छैन । खर, जस्ता र टायलको छानामुनि आफ्नो ज्यान लुकाइरहेका बादीहरू १० वटा घरमा ७० जनासम्म बस्नुपरेको बताउनुहुन्छ केशरी बादी । आफ्नो कला र संस्कृतिलाई बचाइराख्न बझाङका बादी समुदायले बादी सिर्जनशील कमिटी पनि गठन गरेका छन् तर अहिलेसम्म उनीहरूलाई सहयोगी हातहरू नमिलेको बताउनुहुन्छ अध्यक्ष राधा बादी । उनीहरूको बस्तीमा धेरै संघसंस्थाका प्रतिनिधि आएर मीठामीठा सपना पनि बाँडे कुनै संघसंस्थाले परेवालाई जस्तै चारो छरेर पनि गए । त्यसैले अहिले उनीहरू आफ्ना जीवनका कथा व्यथा अरूलाई सुनाउन पनि चाहँदैनन् । बादी महिला सुकिला मुकिलालाई आफ्ना पीडा सुनाउँदा सुनाउँदै थाकिसकेका छन् ।

दिला बादी आफ्नो पीडा गीतबाटै गुनगुनाउँदै भन्नुहुन्छ, “छोराछोरी पठाउनलाई ठूलो कोसिस गर्छु, कापी किन्ने पैसा माग्दा मुर्छापरी रुन्छु” यो गीतको टुक्राले उहाँजस्तै धेरैको पीडा बोलिरहेको छ । एक महिलाले देउडा भाकामा आफ्नो पीडा यसरी पोखिन, “ कठै दैन दुई वारि कि दुई पारिकी दुई जनी दर्नाकी कठै दैन् आइजा काल लैजा पन डर छैन मर्नाखी ।”। सरकारले गरिब दलित विद्यार्थीलाई निःशुल्क पठनपाठनको व्यवस्था गरेपनि यस्ता पीडितले भने अझैसम्म सो सुबिधा पाउन सकेका छैनन् । जिल्ला जनस्वास्थ्य कार्यालयबाट पनि उनीहरूलाई निःशुल्क स्वास्थ्य परीक्षण गराएका छौँ महिनामा एक पटक जाँचको पनि व्यवस्था गरेका छौँ भन्नुहुन्छ कार्यालय प्रमुख डा ः अनुप रेग्मी ।

नाचगानबाट जीविकोपार्जन गर्दै घुमन्ते जीवन बिताउने वादी समुदाय विस्तारै जीविकोपार्जनका लागि मादल बनाउने, सुल्पा, हुक्का, चिलिम, माटाका जस्ता भाँडा बनाउनाका साथै माछा मार्ने कामसमेत गर्दै आएका छन् । विसं २०६८ को जनगणनाअनुसार ३८ हजार ६०३ जनसंख्या रहेको बादी समुदायलाई बादी, नेपाली, पातर, दमाईं, बैराग, सिंह, कुमाल, दास, गन्धर्व र गाइने आदि थरबाट पनि सम्बोधन गरिन्छ । जस्मा पुरुष १८ हजार २९८ र महिला २० हजार ३०५ जना छन् । तीमध्ये ग्रामीण क्षेत्रमा ३० हजार ८८२ र शहरमा सात हजार ७२१ जनाको बसोबास रहेको छ ।

प्रकाशित : मङ्गलबार, फागुन १५, २०७४१७:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

ट्रयाक्टर दुर्घटना हुँदा तीनजनाको मृत्यु