नेपालीकाे उद्धारका लागि जाँदा ८ घण्टा साउदीकाे मरूभूमिमा एक्लै बिताएको क्षण

Leaderboard Banner

गत एक हप्ता अगाडीदेखि केहि पीडित भाईहरूले उद्धार गरिदिन अनुरोध गरेका थिए। साउदीको सरकारी बिदाको दिन मात्रै उनीहरूलाई भेट्न जान सकिने र सम्भव भएसम्म उद्धार गर्ने सोंच बनाएँ। गत २३ सेप्टेम्बर, सुक्रबार कै दिन अन्तर्राष्ट्रिय नेपाली साहित्य महासंघ, साउदी शाखाले ‘यात्रा मरुभूमिको’ पुस्तक विमोचन कार्यक्रम राखेको थियो। सो समारोहमा मलाई बिशिष्ठ अतिथिको रूपमा निम्त्याईएको थियो। म सो ऐतिहासिक समारोहमा सहभागी भएँ। पीडित भाईहरूलाई भेट्न जानुपर्ने भनेर पुस्तक विमोचन लगत्तै आफ्नो शुभकामना मन्तब्य दिएर त्यस तर्फ़ लागेँ। रियाददेखि २२० सय किलोमिटर टाढा रहेछ त्यो ठाउँ। त्यो ठाउँको नामै रहेनछ ।

साउदीको अनकन्टार मरूभूमिमा बिहान अढाई बजे भेट भयो, ७ जना पीडित नेपालीहरूसँग। उनीहरूलाई भेट्न रियादबाट ३ बजेनै निस्केको थिएँ। रियाददेखि २ सय किलोमिटरसम्म बाटो राम्रै थियो। त्यसपछि इन्टरनेटले काम गर्न छाड्यो। र, लोकेसन म्याप रूट नै गायब भयो। पीडित भाईहरूलाई मोबाइलमा सम्पर्क गरेँ। कहिलेकाँही मात्रै नेटवर्कले काम गर्थ्यो। पीडित भाईहरूले त्यो ठाउँसम्म पुग्न बाटो बताउँन पनि सक्दैनथ्यो। त्यहाँ पुग्नका लागि बाटो बताउँन भाईहरूले सँगै काम गर्ने एक भारतीय नागरिकसँग सहयोग लियो। ति भारतीय नागरिकले भने जस्तै मैले गाडी गन्तब्य तर्फ लगेकै थिएँ। केहि पर पुगेपछि गाडीले गलत दिशा लिएछ।

अगाडी बढ्दै गएँ। मैले बाटो बिराएकै रहेछु भन्ने लाग्यो। म आत्तिएँ। त्यतिबेलासम्म घाम अस्ताउनै लागेको थियो। म गईरहेको बाटो भन्दा ठिक सय मिटर पर पक्कि बाटो देखेँ। एकदुई वटा ठूला गाडीहरू गुडिरहेको देखेँ। सोहि पक्कि बाटोमा पस्न खोज्दै थिएँ। अगाडी पढ्दै जाँदा गाडीको पछाडिको चक्का बालुवामा फंस्यो। म पूर्ण रूपले निराश भईसके। किनकि, बिगतमा एकदुई पटक त्यस्तो अनुभव व्यहोरिसकेको थिएँ। तैपनि, गाडी रिभर्स गरेँ। पछाडिको दुवै चक्का बालुवामा फंसीसकेको थियो। घाम पनि अस्ताई सक्यो।

बिस्तारै अध्यारो हुन थाल्यो। अब के गर्ने भन्ने भ्येउ नै पाएनं। मोबाईल हेरेँ, नेटवर्क छैन। एकछिन् गाडीको स्टेरिंगमा टाउको अड्याएर बस्न थाले। अब, के गर्ने के, सोच्नै सकिरहेको थिएनं। त्यतिन्जेलसम्म पूर्णरूपमा अँध्यारो भईसकेको थियो। गाडीको हेडलाइट बालेँ। तैपनि म आफै बालुवामा फँसेको गाडी निकाल्न सक्छु कि भनेर प्रयास गरेँ। गाडी भित्र साना कार्पेटहरू थियो। बालुवा पन्छ्याएर चक्का मूनि कार्पेटको टुक्रा राखेँ। त्यसले पनि काम गरेन।

घडी हेरेँ साँझको ७ बजिसकेको थियो। अलि परको पक्कि सडकमा गाडी गुडेको आवाज पनि सुन्न छाडी सकेको थियो। अब मलाई जसरि हुन्छ, मोबाईल चालू गर्नु थियो। नजिकै बालुवाको थुम्को देखेँ। त्यहि बालुवाको थुम्कोमा चढेर मोबाईल हेरेको नेटवर्क आयो। एकछिन् राहत भएको महशुस गरेँ। र, पीडित भाईहरूलाई सम्पर्क गरेँ। त्यतिन्जेलसम्म भाईहरूले अबत दाई आइपुग्नु हुन्छ भनेर बसेका रहेछन्। म अलपत्र परेको खबर सुनाएँ पछि भाईहरू फोन मै निराश भयो।

गाडी बालुवामा फँसेको २ वटा फोटो खिचेर म अनकन्टार मरूभूमिमा फँसेको फेस्बूक मार्फत जानकारी गराएँ। मेरो सुरक्षाका लागि कैयौँ महानुभावहरूबाट शुभकामना बर्षिन थाल्यो। मेरो सुरक्षाका लागि शुभकामनाहरू सहितको कमेन्टहरू पढ्दा तपतप आँशु खस्यो।

पीडित भाईहरूले मलाई लिन आउनका लागि कैयौँ उपाएहरू रचेछन्। बिचरा, भाईहरू आफै पीडित छन्, सजिलै कहाँबाट सवारी साधन व्यवस्था गरेर म भएको ठाउँसम्म आउन सक्थे र। तैपनि, मानवियता भएका एकजना पाकिस्तानी र अर्को भारतीय नागरिक ति भाईहरूसँग मलाई खोज्न जान तयार भएछन्।  हामीहरू तपाईलाई लिन आउँदैछौं। सक्नु हुन्छ भने पक्कि सडक सकिएको ठाउँसम्म हिडेर आउनु होला भन्ने अनुरोध भयो, भाईहरूबाट।

तीन घण्टासम्म गाडी भित्र बसेर उनीहरूलाई कुरिरहें। भाईहरूले पनि बाटो बिराएर अर्कै ठाउँतिर पुगेछन्। त्यतिन्जेलसम्म रातिको ११ बजिसकेको थियो। मलाई कसैले सम्पर्क गर्न सक्छ भनेर म गाडी भित्र नबसि बालुवाको थुम्कोमा गएर बसिरहें। गाडी फँसेको ठाउँमा नेटवर्कले टिप्दैनत्यो। म बालुवाको थुम्कोमा गएर बस्ने बित्तिकै महामहिम कार्यवाहक  राजदूत श्री आनन्दप्रसाद शर्माले मोबाइलमा सम्पर्क गर्नु भयो। सोहि समयमा अन्य २-३ जना मेरा शुभचिन्तकहरूले पनि सम्पर्क गर्नु भएको थियो। मिल्छ भने मेरो गाडी निकाल्न दूताबासबाट गाडी पठाउनु होला भनेर अनुरोध गरेँ।

केहीबेर पछि दूताबासको गाडी लिएर दूताबास कै कर्मचारी मान बहादुर थापा, मेरो मित्र ओमन दर्लामी मगर सहित थप चार जना लिएर म भएको ठाउँतिर हुइकिनु भएछ। म फेरी बालुवाको थुम्कोमा चढेर वाट्सअपबाट म भएको लोकेसन पठाएँ। र, फोन गरेरै पनि ठाउँसम्म पुग्ने बाटो बताएँ।

यसरि बसेर हुँदैन, पक्कि सडक सकिएको ठाउँसम्म म जसरि पनि पुग्नु पर्छ भन्ने लाग्यो। नत्र दूताबासबाट गएका सरहरू पनि म भएको ठाउँसम्म पुग्न सक्नुहुन्न भन्ने लाग्यो। गाडी मै ४० प्रतिशत जति मोबाईल चार्ज गरें। र, मोबाईलको फ्लासलाइट बाली गाडी बन्द गरेर सो स्थान तिर हिडें। पहिला, त्यो स्थान छोड्दा नजिकै जस्तो लागेको थियो। ठिक दायाँपट्टि १५० मिटर पर नवनिर्माण भएको पक्कि सडक थियो। पुरै ४५ मिनेट हिड्दा पनि त्यो ठाउँसम्म पुग्न सकिन। त्यतिन्जेलसम्म मोबाइल चार्ज पनि सकिएछ। मोबाईलको फ्लासलाइट बन्द भयो। अगाडी बढौं कि फर्कौं, दोधारमा परें । एकछिन् बालुवा मै थचक्क बसेँ। यो भन्दा अगाडी बढें म हराउन सक्छु भन्ने लाग्यो। र, जुन बाटो आएको थिएँ, त्यतै फर्कें। बाटो अलिअलि मात्र देखिएको थियो। म आफै जाँदा टेकेको पाईलाहरू अस्पस्ट देखिएको थियो। त्यसलाई पच्छ्याऊँदै अगाडी बढें। केहि बेर पछि हँसिया आकारको जुनको आगमन भयो। थोरै राहत भएको महशुस गरेँ।

जुत्तासँग हिड्न सकिनँ। पैतालामा गोडादुइएक थेला उठेछन्। जुत्ता निकालेर खाली खुट्टा हिड्न थालेँ। गाडी फँसेको स्थानसम्म पुग्न निकै कस्ट भयो। बडोमुस्किलले पुगें। भोक र प्यासले मूख प्याकप्याक भएको थियो। सबैभन्दा पहिला मोबाईल चार्ज गर्नुपर्छ भन्ने लाग्यो। र, गाडी स्टार्ट गरेर मोबाईल चार्ज गरेँ। केहि मिनेट पछि मोबाईल चालु भयो। कसैले सम्पर्क गर्न सक्छ भन्ने लागेर पुन: बालुवाको थुम्कोमा चढें। नभन्दै दूताबासबाट जानु भएका सरहरूले सम्पर्क गर्नु भयो। र, लगत्तै ति पीडित भाईहरूले पनि सम्पर्क गर्नु भयो।

एउटा थप घटना यहाँ जोड्न चाहेँ। मोबाईल फ्लासलाईट बन्द भएपछि फर्किदै गर्दा परबाट एउटा गाडी मधुरो बत्ति बाल्दै आएको देखेँ। लगभग ४ घण्टा पछि बल्ल एउटा मात्र गाडी आएको हुनुपर्छ। त्यो गाडीको चालकले मलाई सहयोग गर्न सक्नेछ भन्ने झिनो आशा पलायो, मलाई। त्यसैले, बलौटे कच्ची बाटो छाडेर त्यो पक्कि सडकमा गएर हिड्दै थिएँ। बलौटे कच्ची बाटो र पक्कि सडक झन्डै डेढ सय मिटरको दूरीमा समानान्तर रूपमा बनाएको रहेछ। म बलौटे कच्ची बाटो हुँदै गएको रहेछु।

त्यो गाडी टिप्परट्रक रहेछ। त्यो टिप्परट्रक धेरै पुरानो भएकोले होला त्यसको बत्ति पनि धेरै मधुरो थियो।  ४ घण्टा पछि एउटा गाडी त्यसरी आउँदा मलाई राहत भएको महशुस भएको थियो। त्यो टिप्पर चालकले मलाई सडकको छेउंबाट हिडेको देखेछ। सायद, मलाई अस्पस्ट रूपमा देखेको हुनुपर्छ। उसले टिप्परको गति कम गर्यो। टिप्पर रोकेर चालकले मलाई बोलाउँछ कि भन्ने लागेको थियो। क्षण मै मेरो सोंच परिवर्तन भयो। र, त्यसले मलाई नबोलाओस् भन्ने लाग्यो। किनकि, कुन देशको मानिस थियो त्यो, बिश्वास गर्न सकिदैन। मंगोलियन अनुहार परेको मानिसलाई गलत नियतले आक्रमण पनि गर्न सक्छ। त्यसो भयो भने अर्को समस्या पनि थपिन सक्छ भन्ने लागेर मैले त्यसलाई बेवास्ता गर्दै म हिडिरहे। त्यसले आफ्नो टिप्परको गति झन् कम गर्यो र केहि बेर पछि त्यो पनि आफ्नो गन्तब्यतिर लाग्यो ।

मैले अनुमान गरें कि त्यो टिप्पर चालकले मलाई नबोलाउनुको कारण म के हुँ भन्ने नै उसले थम्म्याउन सकेन। उसले म मान्छे नै हो भन्ने लागेको भए, त्यस्तो एकान्त मरूभूमिमा मलाई एक्लो वेवारिसे जस्तो देख्दा कुनै न कुनै प्रतिकृया देखाउन सक्थ्यो। अथवा, आपत परेर यसरि एकलै गन्तब्य बिहिन हिड्दै छ, यसलाई सहयोग गर्नुपर्छ भन्ने लागेर मलाई बोलाउनु पर्थ्यो। त्यो टिप्पर चालक मलाई नबोलाई गन्तब्यतिर लागे पछि मलाई थोरै हाँसो पनि लाग्यो कि त्यसले मलाई मान्छे नठानेर भूत ठानेछन्, त्यसैले त्यो आफै मसँग डराएर आफ्नो गन्तब्यतर्फ लाग्यो।

मेरो उद्धारको लागि दुवै तर्फबाट आउँनु भएकाहरू पक्कि सडक सकिएको स्थानसम्म आईपुग्नु भएछ। पक्किबाटो सकिएको स्थानमा ‘सडक समाप्त’ भनेर बोर्ड नै राखेको छ, त्यहाँ। तर, बीचमा ब्लक गरेर ४-५ सय मिटर अगाडी सोहि बाटो निर्माण भएको रहेछ। त्यो बाटोको ठिक सय मिटर पर म फँसेको रहेछु। म बालुवाको थुम्कोमा बसेर वहाँहरू आइरहेको गाडीको हेडलाईट म तिर तेर्सिएको देख्दा ठुलो राहतको सास फेरेँ। त्यतिन्जेलसम्म कुनै गाडी नचलेको हुँदा मेरो उद्धारको लागि आउँनु भएकाहरू नै हुनहुन्छ भन्ने एकिन गरेँ। म भन्दा सय मिटर टाढा आइपुग्नु भएपछि मैले फोन सम्पर्क गरेँ। मेरो नजिक आइपुग्नु भयो गाडी रोक्नुस् भनेर अनुरोध गरें। दुवैतिरबाट एकै चोटी आइपुग्नु भयो। मैले म तिर बोलाएँ।

वहाँहरूले मेरो लागि पानी र केहि खानेकुरा लिएर आउँनु भएको रहेछ। एक लिटर भन्दा बढी पानी एकै सासमा सकाएँ। थप जूस र केहि खानेकुरा खाइसके पछि ठूलो राहत भयो, मलाई। दुवै तिरबाट आउँनु भएका नौ जनाले फँसेको गाडी निकाल्न सजिलै सफल भयौं। र, रियादबाट जाने सरहरूलाई फर्किन अनुरोध गरे।  म पीडित भाईहरूसँग गएँ।

सन्जोग कस्तो अचम्म। पीडित ४ जना भाईहरू र रियादबाट जानु भएका सरहरू त्यहाँ एकैसाथ पुगेका थिए। कथम्कदाचित एउटा समूह मात्र पुगेको भए ४-५ जनाले मात्र फँसेको गाडी निकाल्न गार्है हुने थियो। दुवै समूहका ८-९ जना मानिसहरू एउटै समयमा त्यहाँ पुग्दा फँसेको गाडी निकाल्न अति नै सजिलो भएको थियो। र, २-३ मिनेट भित्रमा नै गाडी निकाल्न सफल भयो।

पीडित भाईहरूको बारेमा जानकारी लिएँ। गत दुई महिना अगाडी नबिल ए.अल-सकार कम्पनीमा नवराज पाण्डेद्वारा सञ्चालित कान्तिपुर ओभरसिज, सामाखुशी काठमाडौँले तिनीहरूलाई पठाएका रहेछन्। अल-सकार कम्पनीले  सिमेन्ट बनाउँने फ्याक्ट्री यामाह कम्पनीलाई कन्ट्रयाक्टमा दिएको बुझिन्छ। उनीहरूलाई मासिक १३ सय रियाल तलब दिने सहमति गरि पठाए पनि अहिलेसम्म एक रियाल पनि तलब बापत नदिएको पीडितहरू बताउँछन्। कम्पनीले अहिलेसम्म साउदी रेसिडेन्सी कार्ड (अकामा) नबनाई दिएको बुझिन्छ। कम्पनीले अकामा नबनाई दिए पछि कुनै पनि बीमा हुन नसक्ने र बीमा नभएपछि बिरामी हुँदा उपचार हुन नसक्ने साउदीको प्रावधान रहेको छ। अकामा बन्न नसक्नु भनेको एक प्रकारले अवैध कामदारको रूपमा रहेको भन्ने बुझिन्छ। उनीहरूसँग अकामा नभएको अवस्थामा साउदी प्रहरीले फेला पारे समातेर जेलसम्म हाल्न सक्छ। प्राय: सबै कम्पनीहरूले कुनै पनि नयाँ कामदार साउदी आइपुगेको एक हप्तादेखि १० दिन भित्रमा अकामा बनाएर कामदारलाई दिईसकेको हुन्छ।

दुईदुई महिनासम्म पनि तलब सुबिधा नपाउने र अवैध रूपमा साउदी बस्न बाध्य भएकाहरू: दाङका प्रेमबहादुर केसी, स्याङ्जाका कोषबहादुर खवास, रोल्पाका टेकबहादुर रोका, सल्यानका बद्री बोहोरा, बाग्लुंगका अशोक बहादुर कामी, पाल्पाका खुमबहादुर थापा र पाल्पाकै भीमबहादुर थापा रहेका छन्। यी सबै सातैजनाले सहमति पत्रमा उल्लेख भए अनूरुप तलब सुबिधा प्रत्यक महिना पाउनुपर्ने, तुरून्तै अकामा बनाएर मेडिकल सुबिधा दिलाउनु पर्ने, सहमति अनुसार बाहिर ५० डिग्री घाममा होइन – भित्र काम गर्न पाउनु पर्ने माग राखेका छन्। मेनपावरसँग भएको सहमति अनुसार तलब सुबिधा दिन नसके तुरून्तै स्वदेश फिर्ता गराउँन माग गरेका छन्।  सरकारले १० हजार मात्र वैदेशिक रोजगारीमा जानेहरूबाट असुल्न पाउने व्यवस्था गरे पनि मेनपावरले उनीहरूबाट एकलाख १० हजार रुपैयाँ देखि एक लाख २५ हजार रुपैयाँसम्म उनीहरूले बताएका छन्। ति पीडित भाईहरूलाई न्याय दिलाउँन नेपाली दूताबास, रियादमा अनुरोध गरिसकिएको छ।

सरकारले यस्तो अव्यबस्थित वैदेशिक रोजगारलाई अबिलम्ब सुधार गरियोस्। सोझा सिधा नेपाली यूवाहरुलाई कमिशन पाउने लोभमा रोजगार दाता कम्पनीको प्रकृति नै नबुझिकन अन्धधुन्ध कसैलाई यसरि नपठाईयोस्। अदक्ष नेपाली कामदारहरूलाई प्रयाप्त अभिमुखीकरण तालिम बिना खाडी मूलुक पठाउने कार्य अविलम्ब बन्द गरियोस्। साउदी सरकार र रोजगार दाता कै कारणले निर्दोष कामदारहरूलाई अवैध घोषणा गरेर जेल हाल्ने र स्वदेश फर्किनबाट बन्देज गरिएको छ, त्यसलाई रोक्न नेपाल सरकार र साउदी सरकार बीच अबिलम्ब श्रम सम्झौता होस्। हजारौं नेपाली कामदारहरूको समस्या हेर्न नेपाली दूताबासमा प्रयाप्त कर्मचारीको व्यवस्था गरियोस्। नेपाल एउटा सस्तो श्रमिकहरू उत्पादन र निर्यात गर्ने देशको रूपमा चिनिएको छ। यस प्रति सरकार गम्भीर बनोस्। लाखौं यूवाहरूलाई वैदेशिक रोजगारमा पठाउनु भन्दा स्वदेश मै स्वरोजगार बनाउँन प्रोत्साहन गरियोस्।

प्रकाशित : आइतबार, फागुन १३, २०७४१९:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

आखिर ८ मार्चको दिन किन मनाइन्छ अन्तर्राष्ट्रिय नारी दिवस ?