यसरी भाँडिएको थियो युवराज दिपेन्द्रको विवाह

Leaderboard Banner

म दरबारमा भएकै बेला २०४५ सालतिर दरबार मार्गको नाङ्लो रेस्टुराँमा युवराज दीपेन्द्र र उहाँका केही साथीहरु तथा उहाँका अंगरक्षकहरुले पेय पदार्थ लिँदै र खाना खाँदै गर्दा के कुरामा विवाद परेछ, कुटपिट चलेछ र ती अंगरक्षक घाइते भएछन् । युवराजको सम्म मर्यादा राखेनछन् । सबैले रिस ती अंगरक्षकमाथि पोखेछन् ।

त्यो थाहा पाएर मैले राजा वीरेन्द्रमा जाहेर गरेँ, ‘सरकार ! त्यस्तो घटना हुनुमा जवानी, धन–सम्पत्ति, प्रभुत्व र त्यसबेला रिसको समयमा विवेक हराउनु– यी कारणहरुमध्ये एउटै मात्रले पनि खराव गर्छ । ती चारै कुरा भए ठूलो अनर्थ हुन्छ भनी नीतिकारले भनेका छन् । युवराज मस्त जवान होइबक्सन्छ, धन–पैसाको पनि कमी छैन, युवराजधिराज भएपछि प्रभुत्व पनि हुने नै भयो । रिस उठेको बेला विवके हराउँछ । यसरी चारै कुरा भएपछि ठूलो अनर्थ हुन सक्छ ।’

राजाले अलि गम्भीर भएर भन्नुभयो, ‘यसमा उपाय के छ त ?’ ‘अंगरक्षकहरु पनि उस्तै उमेरका छन, युवराजलाई के गर्दा खुसी बनाउन सकिन्छ, त्यही गर्छ्न, त्यही गर्ने छन् । कुनै नहुने कुरा भएपछि यो गर्नु हुँदैन भन्ने कोही छैन । त्यसकारण ती युवक अंगरक्षकमाथि उमेर पुगेको कमान्डर राखिबक्सनुपर्यो । उसले ती अंगरक्षकहरुलाई नियन्त्रणमा राख्छ । युवराजधिराजलाई केही अदब हुन्छ, सीमाभित्र राख्न चाँडै विवाह गरिबक्सनुपर्छ । मत्ता हाती मद चढेको बेला ढोई (पोथी हात्ती) सँग लागे मात्र शान्त हुन्छ, नत्र बहुलाउँछ । प्रकृतिको नियम नै हो, महिलाहरुले पुरुषलाई बशमा राख्छन् । नीतिशास्त्रले त्यही भन्छ’, मैले जाहेर गरेँ ।

‘अंगरक्षकको कुरा चैत्रको अन्ततिर सम्झाऊ, त्यसबेला उपयुक्त समय हुन्छ’, राजाको जवाफ आयो । पछि मौकामा सम्झाएँ पनि तर केही भएन । पुनः जिज्ञासा राखेँ, ‘यसपटक भएन’ भन्ने जवाफ पाएँ । त्यसपछि ढुकुटी विभागले युवराजको विवाहका लागि चाहिने गहना बनाउन लगाएको भन्ने सुनेको थिएँ ।

कहिलेकाहीँ काम परेको बेला त्रिभुवन सदनमा युवराजलाई भेट्ने अवसर मिलेको थियो । युवराज स्नातक भएपछि खाली समयमा एउटा काम विशेषले म त्यहाँ गएको थिएँ । युवराजलाई भर्खर दरबारमा कम्प्युटर आएकाले हरिहरले सिकाएका थिए । युवराज कम्प्प्युटरमा तासको खेल खेलेको मैले पाएँ । ‘बस’ भनेपछि बसेँ । एकछिनपछि सम्बन्धित काम जाहेर गरेँ । अनि विदा हुन लागेको थिएँ, फेरि ‘बस’ भनेपछि बसेँ ।

के छ ?’ दीपेन्द्रबाट सोधनी भयो

‘सरकारको विवाह भोज कहिले खान पाइएला भनी कर्मचारीहरु भन्छन् । बाहिर जनता पनि अब त सरकारको चाँडै विहे भए हुन्थ्यो भन्छ्न’, मैले भनेँ ।

‘पर्ख न पर्ख’, युवराजधिराजले हाँसेर भन्नुभयो । यसरी भेट्न पाएको समयमा यस्तै कुरा हुन्थे ।
२०५२ सालमा दरबारमा अधिराजकुमारी श्रृतिको विवाह भोज खाँदै थियौँ । दीपेन्द्र हातमा प्लेट लिएर खाँदै म भएको ठाउँमा आएर भन्नुभयो, ‘रेवती, तिमीले मेरो विहे भोज खान नपाउने भयौ ।’

मैले भनेँ, ‘म नोकरीबाट अवकाश भए पनि यस्तै निम्ता पाए हाजिर हुन्छु ।’ युवराज अरु बोल्नुएन । घर फर्किंदा बाटोभरि विचार गरेँ, ‘किन त्यस्तो भन्नुभएको ?’ मैले भेटेपिच्छे जस्तो उहाँको विहेको कुरा गरेकाले होला भन्ने ठानेँ । पछि यस विषयमा चाख लिएर बुझेँ ।

श्री ५ युवराजधिराजको विवाह गर्ने भनेर २०४९ सालमा जिज्यूमुमा रत्नको नाता पर्ने रथी प्रदीपविक्रमकी छोरी सुप्रिया शाहको कुरा चलेको थियो । उनलाई दरबारको चालचलन र व्यवहार सिकाउन जिज्यूमुमापट्टि नै राखिएको थियो । युवराज दीपेन्द्रलाई पनि मन परेको थियो रे । त्यसैले सुप्रिया शाहको पूर्ण कदको ठूलो तस्वीर त्रिभवन सदनको दीपेन्द्रको मास्टर बेडरुममा रहेको थियो ।

मुमा बडामहारानी ऐश्वर्यबाट भने सासूको नाता पर्ने हुँदा ती विहे गर्ने भनेकी केटी हुँदैन भन्ने रहेछ । इन्टेरियर डेकोरेसन त्रिपुरेश्वरले बनाएको मास्टर बेड रुमको पलंगमाथि सजाएर राखेको सो फोटो मुमा ऐश्वर्य त्रिभुवन सदन आएको थाहा पाउनासाथ दीपेन्दले लुकाउने गरेको कुरा बैंठकेबाट थाहा पाएको थिएँ । सासु–बुहारीको विवादका कारण सुप्रियासँग विवाह नहुने भनी दरबारबाट फर्काइएछ ।
त्यसैले दीपेन्द्रबाट मलाई विवाहको भोज खान पाउँदैनौ भनेको मैले बुझेँ । त्यसपछि पशुपतिशम्शेरकी छोरी देवयानीसँग विहेको कुरा चलेको थियो । त्यसैबेला नेपालका खेलाडीहरु अन्तर्रा्ष्ट्रिय खेलकुदमा भाग लिन विदेश गए ।

खेलकुदका सरक्षक युवराज दीपेन्द्र पनि खेलाडी युवाका प्रियपात्र भएकाले सो खेल हेर्न विदेश जानुभयो । देवयानी पनि सो खेल हेर्न गएको बेला भेट भयो रे । युवराज दीपेन्द्र र देवयानी राणामा घनिष्ठता रहेको थियो । त्यसमा पनि बडामहारानीले विरोध गरेर विहा नहुने भएछ । युवराजको विवाहको तयारीलाई पनि समय चाहिने हुँदा धेरै अगाडि थाहा पाइन्छ । त्यस्तो केही थिएन । अंगरक्षक कर्नेल सुन्दरप्रताप राना भन्छन्, दीपेन्द्रले भन्नुभयो, ‘हेर न सुन्दर, मेरो त विहे नै नहोला जस्तो भयो, बुबाहरु मानिबक्सेको छैन ।’ त्यसपछि दरबार हत्याकाण्डले गर्दा उहाँको विहे हुनै पाएन । कारणबिना कार्य हुँदैन । त्यत्रो ठूलो घटना हुन ठूलै कारण हुनुपर्छ भन्ने धेरैको धारणा थियो ।

राजदरबारका पूर्वप्रमुख सचिव रेवतीरमण खनालको पुस्तक ‘अनुभूति र अभिव्यक्ति’बाट साभार

प्रकाशित : बुधबार, फागुन ०९, २०७४१८:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

जसले राजा वीरेन्द्रको हत्या गर्‍यो उसैले ज्ञानेन्द्रलार्इ गद्दीहीन बनायो