दोहनीमा उत्खनन गर्दा इशापूर्व चारसय वर्षदेखि मानव बसोबास पाइयो !

Leaderboard Banner

कपिलवस्तु । कपिलवस्तुको ऐतिहासिक दोहनी क्षेत्रमा उत्खनन गर्दा इशापूर्व चारसय वर्षदेखि मानव बसोबास शुरु भएको पाइएको छ ।

पुरातत्व विभागको व्यवस्थापनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञको संयुक्त टोलीले उत्खनन गर्दा पाएका पुरातात्विक सामग्रीको अनुसन्धानपछि सो तथ्य प्रकाशमा आएको हो । उत्खननमा भेटिएका माटोका भाँडा तथा सामग्रीका टुक्रा तथा मूर्तिको वैज्ञानिक परीक्षणका आधारमा चारसय वर्ष अघि यहाँ मानिसको बसोबास भएको अनुमान गरिएको छ ।

कपिलवस्तुको सदरमुकाम तौलिहवाभन्दा करिब चार किलोमिटर पूर्वतर्फ तथा लुम्बिनीबाट करिब २० किलोमिटर पश्चिमतर्फको यस क्षेत्र स्थानीय कुदान, अरौँराकोट तथा तिलौराकोट र लुम्बिनी भ्रमण गर्ने तीर्थालुका साथै कर्मचारी, व्यापारी आवतजावत गर्दा विश्रामस्थलको रुपमा प्रयोग हुँदै आएको छ । विभागको अनुरोधमा सन् २०१६ मा बेलायतको दुरहाम विश्वविद्यालयले भौगोलिक सर्भेक्षण गरी जमिनको सतहभित्र पूर्ण सुरक्षित ५०÷५० मिटरको चारै कोणमा गोलाकार बुर्जा भेटेकोे थियो । अहिले बेलायतको कला र मानविकी अध्ययन परिषद्को आर्थिक सहयोगमा उत्खनन तथा अन्वेषण हुँदै आएको छ ।

उक्त स्थानमा प्राचीन समयदेखि नै मानव सभ्यताको विकास भएको प्रमाण प्राप्त भएपछि पुरातात्विकस्थलको वर्तमान प्रयोग, मूल्य, मान्यता तथा यस क्षेत्रको अमूर्त सांस्कृतिक सम्पदाबारे स्थानीयलाई जानकारी गराउन परामर्श गरिएको विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए । यस स्थानको उत्खननमा संलग्न समूहले तिलौराकोट दरबार क्षेत्र विश्व सम्पदा सूचीमा सूचीकृत गराउन विभिन्न मुलुकका विज्ञहरूको सहयोगमा थप अनुसन्धान हुँदै आएको छ । यही फागुन ११ गते उक्त समूहले यहाँ गरेको खोज तथा अनुसन्धानका क्रममा थप नयाँ तथ्य बाहिर आउनसक्ने बताइएको छ ।

सोही समूहले स्थानीय कुदान, निगलिहवा, सिसहनिया, दोहनी, सगरहवा क्षेत्रमा समेत उक्त टोलीले सर्भेक्षण गरिसकेको छ । यसअघि सोही टोलीले सन् २०११ देखि तीन वर्षसम्म लुम्बिनी क्षेत्रमा अनुसन्धान गरी प्राचीन लुम्बिनी ग्रामको नयाँ इतिहासका साथै लुम्बिनीबारे धेरै तथ्य प्रकाशमा ल्याएको पुरातत्वविद् कोशप्रसाद आचार्यले बताए ।

विज्ञ आचार्यका अनुसार त्यहाँ पाइएका तथ्यका आधारमा विश्व परिवेशमा कपिलवस्तुको सभ्यता अगाडि र संस्कृति उत्कृष्ट रहेको बुझ्न सकिन्छ । पाँचौं शताब्दीमा चिनियाँयात्री फासियान र सातौँ शताब्दीमा ह्वेसाङले यसक्षेत्रमा गरेका यात्रा तथा यात्राका आधारमा तयार भएका विवरणले यहाँको खोज र अनुसन्धानलाई केही सहज बनाएको छ । हाल प्रदेश नं ५ मा पर्ने कपिलवस्तु नेपालको पश्चिमी भेगमा पर्ने एउटा जिल्ला हो ।

कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंहले कपिलवस्तु संस्कृतिक तथा पुरातात्विक हिसाबले उत्तिकै महत्वपूर्ण मानिए पनि त्यति प्रचारप्रसार हुन नसकेका कारण ओझेलमा परेको बताए।

प्रकाशित : बुधबार, फागुन ०९, २०७४१३:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

यी हुन् निषेधित क्षेत्र घोषणा गरिएका ६ स्थान