Connect with us

बिचार / ब्लग

मकैबारी लभ……

जाेतारे धार्इबा ः

Jotare Dhaiba

गर्मीले बाँसका सुकेका पात जसरी लुगा खोलेको थियो । बलौटे सडकमा बाफको रिदममा नाच्न मग्न थियो, नाङ्गै ।

भित्री मधेसमा पर्ने उदयपुर गर्मी मौसममा घाम उदाउनासाथै तापमा पुरिन्थ्यो । घामले निष्फिक्री डाम्न सक्ने खुला आँगनमा थियो स्कुल । स्कुलमा ब्याग बोक्ने चलन थिएन । सरकारी स्कुलको लोकतान्त्रिक पारा ∕ कम्मरमा पानीको गाग्री बोकेसरि किताब च्यापेर घर–स्कुल गरिन्थ्यो । त्यस्तैमा पसिनाले निथ्रुक्क भिजेर गाता र कतिपय भित्री पानाहरू बाटोमै हराउँथे, सतीदेवीको अंगपतन भएझैं ।

स्कुलछेउको खुला फाँटमा थियो मकैबारी । देख्दैमा झन् हपक्क गर्मी हुने । किसानको गोडमेल र स्याहारले मकैका बोट छातीमा दूधिला घोगा बोकेर उन्मत्त भएका !

म पढ्थें कक्षा आठमा । पढेर केही सिक्नेभन्दा पनि जिल्लास्तरीय परीक्षाको डरले दिमागमा काँडा उम्रिराख्थ्यो । मभन्दा दुई कक्षा जुनियर थिई रमिला । बाहिरको कुनै स्कुलबाट आएकी नयाँ विद्यार्थी । मेरी बहिनीसँगै पढ्ने । गाउँघरमा धूलोमा खेल्दै पढ्ने मैलाधैला विद्यार्थी भएको जमातमा रमिला फरक देखिन्थी– सुकिली र आकर्षक । गाईले बाछाको निधार चाटेर चिल्लो पारेजस्तै परैबाट उसका आँखा सफा देख्थेँ, एकदम उज्यालो सपना मात्र देख्नेजस्ता ।

परीक्षाको पहाड समथर बनाउन कोचिङ क्लास स्कुलमै चल्थ्यो । बिहान सबेरै कोचिङ र १० बजेपछि स्कुलको नियमित पढाइ । अंग्रेजी र गणित विषयको हाउगुजी सबै विद्यार्थीको साझा थियो । म पनि बिहान–बिहान कोचिङ धाउँथेँ । जुनियर कक्षाको ट्युसन पढाउने लहरै थियो ।

रमिला पनि आउँथी हरेक बिहान । उसको ट्युसन र मेरो कोचिङ क्लास जुधे पनि हाम्रो मुटु रगडिन अझै बाँकी नै थियो । उसको उज्यालो अनुहारले मभित्र कतै झिल्का पार्न थालेको थियो र त्यो बल्ने तर्खरमा थियो ।

त्यो कलिलो किशोरवयमा मायाको भाषा र परिभाषा थाहा हुने कुरै भएन । र पनि भाषादेखि बाहिर मेरा आँखाका नानीले इसारा पक्रन थालेका थिए । स्कुलमा उसका चञ्चलता मलाई देख्नासाथै सजग बन्थे । ६ कक्षाकी बाला मसामु आफूलाई केटाकेटी देखाउन तयार थिइन् । सायद आफूलाई प्रेम गर्नयोग्य र गम्भीर देखाउन चाहन्थी ।

थारू बस्ती झोरा गाउँमा थियो उसको घर । त्यहाँदेखि स्कुलसम्म मैलाई भेट्न आउँछे भन्ने सोच्न थालेको थियो मनले । ट्युसन पढ्न बिहान झिसमिसेमै आएर ऊ कक्षाकोठा बाहिर कोचिङ क्लासतिर एकोहोरो हेर्थी । जवाफी हेराइ मेरो हुन्थ्यो । म पनि बिहान सबैलाई उछिन्ने गरी स्कुल पुग्न थालेको थिएँ । ताकि, उसको र मेरो हेराहेरको बीचमा कुनै नजर अवरोध नबनोस् । टाउकोमा बाँधेकी हुन्थी बुट्टादार चिप्लो रुमाल । कुनै क्रान्तिकारी योद्धाजस्तै देखिन्थी । तर, खासमा म संसारको तमाम युद्धको आगो मायाले निभाउने गरी हेलिंदै थिएँ ।

बिस्तारै स्कुल ज्ञानको भकारी कम र सुगन्धको फूलबारी ज्यादा लाग्न थालेको थियो । स्कुलमा गुलमोहरको रातो झुप्पा फूलमा बास्ना चढ्दै थियो ।

त्यो बेला घरघरमा सुधारिएको चुल्हो बनाउने परियोजना चलेको थियो । यस्तै चुल्हो रमिलाको घरमा बनाउन गइयो । साथी थियो मसँगै पढ्ने उसको गाउँको डम्बर दनुवार । ऊ पनि हामी दुईको चक्कर मिलाइदिन लागिपरेको थियो । चुल्हो त के बनाउनु, रमिलाको सामीप्यमा केही पल बस्न पाउने लोभ थियो । यही लोभ बुझेर होला, डम्बरले चुल्हो–निम्तो दिएको । जानीनजानी मैले चुल्हो बनाइरहँदा तिनै ठूला र सफा आँखा पिर्लिक पिर्लिक पारेर हेर्थी ऊ । स्कुलमा वल्लो कक्षा र पल्लो कक्षाको हेराइ टाढा र केही नबुझिने खालको हुन्थ्यो, यसपालि भने घरमै अलिक नजिकबाट चार आँखा दुई भए । मुटुमा भुकभुक्ती फोका उठ्दै–फुट्दै गरे, छिटछिटो । खासमा चुल्होसँगै उसको मनमा आफ्नो लागि घर नै बनाउँदै थिएँ ।

आठपछि नौ कक्षामा पुग्दा बल्ल तारतम्य मिल्यो । मौन कसरतहरूको सुनुवाइ एक वर्षपछि भयो । रमिलालाई मायाको चिनो दिन मन लाग्यो । चुहाडे चोकमा महेन्द्रको गहना पसलमा चाँदीको औंठी बनाएँ, औंठीमा खोपाएँ– अंग्रेजी अक्षर ‘आर’ ।

यस्तैमा ऊसँगै पढ्ने मेरी बहिनी हाम्रो हुलाकी बनी । पहिलो चिठी खै कसले लेख्यो, याद छैन । तर, उसको मनमा मेरो लागि जेरी–स्वारी पहिल्यैदेखि मजाले पाकेको रैछ भन्ने थाहा भयो । सरम पचाएरै बहिनीको हातबाट चिठी ओसारपसार गराउन थालियो । जवाफमा आएका चिठीका हरेक अक्षरमा उसको महजस्ता ओठ पनि घुलेर आउँथे । ध्वनि आफसेआफ प्रकट हुने । त्यो बेलादेखि नै साहित्यमा भिज्दै गएको थिएँ, मेरो चिठीको असर पनि उसमा गाढा पर्दै थियो । त्यो कुरा उसको जवाफी चिठीले दर्शाउँथे । माया के हो भन्ने नबुझी मायालु बनिसकेको थिएँ ।

रमिला अब मेरी रम्मु बनी । …

माया नगाँसिँदा गाँसिनसम्म पाए हुन्थ्यो भन्ने चाह । गाँसिइसकेपछि भेटिराख्न, बोलिराख्न पाए हुन्थ्यो भन्ने थप लालसा । अनौठो डर र काउकुतीले मुटुलाई घेरा हालिराख्थ्यो । गाउँघरमा फोनको प्रचलन नै नभित्रिएको त्यो समयमा भेटघाट ठूलो कुरो हुने भइहाल्यो ।

डम्बरले सम्झाउँथ्यो– ‘कतै डुल्न जाओ । फिल्म हेर्न जाओ । यसरी पनि चल्छ ?’

आफूलाई भने जोडीले त्यसरीे घुमफिर गर्न जानुपर्छ भन्ने सोचसम्म पनि थिएन । डम्बरले सुझाएपछि घुम्न र फिल्म हेर्न जानुपर्ने कतै मायाको नियमै हो कि जस्तो लाग्यो । तर, डुल्ने त परको कुरा भेट्नेसम्म पनि आँट भए त मरिजाउँ !

एकान्तमा भेट गर्ने मनको काउकुती यसै पन्छाउनु पनि कसरी ? तर कहाँ, कसरी भेट्ने ? ‘डेटिङ’ भन्ने शब्दसमेत थाहा नभएको प्राणीलाई गाउँघरमा भेट्ने गोप्य अड्डा सोच्न कसैगरी आएन । स्कुलको चारकुने आँगन नै हामी दुईको देखभेटको एकमात्र संसार थियो । स्कुलअघि–पछिको समय म माथ्लो गाउँ र ऊ तल्लो गाउँमै हुन्थ्यौं । मायाको अनुमोदन त भइसकेको थियो, तर त्यसको विकास–विस्तारको चुनौती आइलाग्यो ।

यदाकदा मुटुले भुक्क ठेलेर रम्मुछेउ पुर्‍याउने तागत भथ्र्यो । स्कुल छुट्टीको घन्टी लागेपछि सबै विद्यार्थी लाखापाखा लाग्थे । कोही चुहाडे चोक, कोही बागचौरी, कोही भान्टाबारी, कोही तोरीबारी र कालीखोला, कोही धरमपुर, कोही गुन्टे डाँडा, कोही चकलघाट । मलाई चाहिँ झोरा गाउँको मात्र सरोकार थियो । ऊ घरतिर गएसँगै एकतमासको खिन्नता मेरो साथी बन्थ्यो । घर जान स्कुलको गेटबाटै म उँभोतिर र ऊ उँधोतिर फाट्नुपर्थ्याे ।

एक दिनको कुरा । ऊ स्कुलबाट घर फर्किन चुहाडे चोकतिर बढ्दै थिई । म पनि गाग्री जस्तै किताब च्यापेर घरतिर लम्किएँ । घरतिर जाँदै गर्दा हामी दुवैका आँखा एक–अर्कालाई बेलाबेला पछ्याइरहेथे । गर्धनमा स्प्रिङ फिट गरेजस्तै म झन् तीव्रताका साथ टाउको घुमाईघुमाई मायालु मुहारको उज्यालो चोर्दै थिएँ ।

अचानक मुटुले भुक्क ठेल्यो । आँट आयो !

साथीहरू र अरु केटाकेटी आ–आफ्नै तालमा घरको बाटो तताउँदै थिए । म फनक्क मोडिएँ । रम्मु गएकै दिशातिर दगुरेँ । स्कुलको गेटकै अगाडि रामेश्वर सरको घर थियो, परवाह गरिनँ । नयाँ युगल जोडीको मिलनबारे कसैले याद गर्ला कि, वास्ता भएन । बस्, दगुरिरहेँ ।

फिल्महरूमा हिरोनीलाई भेट्न हिरो स्लो मोसनमा दगुरेजस्तै पैताला एकदम हल्का थियो मेरो । हिरो आफैंभित्र कतै लुकेर बसेको रैछ ।

स्कुलदेखि थोरै अगाडि एक्लै जाँदै रैछे ऊ । सम्भावित भेटबारे सुइँको थियो उसलाई ?

हामी अघिल्तिर बढ्यौं । केही बोल्नेभन्दा पनि अप्ठेरो गाँठो छ दुवैमा । सडकको दायाँ–बायाँ छ झुरुप्प मकैबारी । हिरोको भूत जतिसुकै सवार भए पनि यत्तिकै सडकमा बात मार्दै हिँड्न अलिक अप्ठेरो लाग्यो । फेरि अगाडि चौक आइपुग्न लागेको थियो । चोकमा हुने मान्छेहरूको चहलपहलबीच हामी दुईले कतिजनाको आँखा थुन्न साध्य ? चोक पुग्नुअघि नै यतै कतै बसेर बात मारौं भन्ने सल्लाह भयो । छेउको मकैबारीजस्तो शान्त र एकान्त ठाउँ अन्त कहाँ पाउनु ? बाटो हिँड्ने मान्छेले झट्ट मेसो नपाउने गरी अलिक भित्रतिर खेतको आलीमा टुसुक्क बसियो ।

कुरा त गर्ने, तर केबारे ? दिमाग शून्य भयो ।

‘आखिर चक्करमा परियो है,’ फ्याट्ट मुख खोलेछु ।

‘कस्तो चक्कर नि ?’ हल्का मुस्काउँदै लाजवन्ती झारजस्तो ओइलाई । म झन् हुरुक्क भएँ । अब के बोल्नुपर्ने हो, मेसो भएन ।

‘पढाइ कस्तो चल्दै छ ?’ यस्सै सोध्न आएछ । त्यसो त कक्षाको फस्ट विद्यार्थी थिई ऊ ।

‘ठीकै ।’ मेरो औपचारिकतालाई त्यस्तै जवाफले टारी ।

‘ए ∕ऽऽऽ’ फेरि मुखमा गम लाग्यो मेरो ।

‘श्रीराम बाजेको के छ नि ?’ यो पालि कुराको लहरा उसैले तानी ।

तिनताक नेपाल टेलिभिजनमा देवी टेलिसिरियल आउँथ्यो । त्यसमा ‘श्रीराम–श्रीराम’ भन्दै गफ हाँक्ने एकजना चलाख र बोलक्कड पात्र थिए । स्कुले केटाकेटी एकपटक गाउँनजिकै पिकनिक खान जाँदा मैले त्यही पात्रको नक्कल गरेकोले श्रीराम बाजे भन्ने परिचय कमाएको थिएँ ।

‘श्रीराम बाजेको पनि ठीकै छ । श्रीराम बज्यैलाई जीवनभरिका लागि पाउने सपना छ ।’ फिस्स हाँसेँ ।

ऊ गुजुल्टो परेर हाँसी । मेरो जस्तै सपना उसको आँखामा पनि छल्किएको देखेँ । म पनि गुजुल्टिएँ । एउटै आलीमा बसे पनि सरमले भिजेका नजरको वाण चल्यो, परपरै ।

यत्तिकैमा खेतको दुई–तीन गह्रा पल्तिर मकैका बोट हल्लिए । हावा चलेको के हुन्थ्यो, खेतभित्र झन् हपक्क गर्मी थियो । हल्लिएका बोटहरूकै बीचमा एउटा टाउको पनि चलायमान देखियो ।

लु खत्तम ∕ चियो गर्ने कुन जेमराज आइपुग्यो मकैबारीसम्म ?

एकैछिनमा अरू थप दुई–तीन टाउका थपिए ।

रमितेहरूलाई नयाँ हिरो–हिरोनीको प्रेमालाप त तमासा भएछ । तिनैमध्ये एउटा फुच्चे त चोकको साइकल मेकानिक धनगढियाको छोरा रैछ । त्यही स्कुलमा पढ्ने । मकैबारीको घारीमा त्यसले मेरो अनुहार चिन्यो । बर्बाद भो ∕ अघिसम्म कुतकुतिएको मुटु अत्यास र चिन्ताले एकाएक साउन्ड बक्सको स्पिकरजस्तै ड्वाङ्ड्वाङ् थर्कियो । रमिलाको उज्यालो अनुहारको पनि फ्युज उड्यो । केटाहरू गुनगुन गर्दै हामीतिरै बढ्दै गरेजस्तो लाग्यो । अब सुइँकुच्चा ठोक्नुभन्दा अरू उपाय थिएन । मकैबारी भित्रभित्रै हस्याङफस्याङ गर्दै सडकमा निस्किएर आ–आफ्नो घरतिर लाग्यौं ।

भोलिपल्ट । स्कुलमा उस्तै चंगा मन लिएर पुगियो । तर, स्कुल हाता हिजो–अस्ति जस्तो नभई केही अनौठो हावा चलेजस्तो लाग्यो । अल्लारे ठिटाहरूले मलाई अर्कै ग्रहबाट आएको प्राणीजस्तै घुरेर हेरे । आफूभन्दा जुनियर कक्षाका केटाहरू झन् मेरो सेखी झारुँला जसरी चम्किएका देखिए । कुरा बुझ्न गाह्रो भएन, हिजोको घटना स्कुलका केटाहरूमाझ मकैबारी काण्डकै रूप लिइसकेछ । हिजोसम्मको हिरो आज बदनाम बनिसकेछु ।

‘के भो ? किन यसरी हेरेको ?’ माहोल साह्रै बिझाएपछि म सुर्रिएँ ।

‘के ? जो चोर उसैको ठूलो स्वर ?’ जुनियर कक्षाका केटामध्ये सोमे फन्कियो ।

‘मैले के गरेँ ?’ झोंकै चलेपछि च्याट्ठिएँ ।

‘निहुँ खोज्या ? आफैंलाई थाहा होला के गर्‍या भनेर ।’ केटाहरूले झन् उग्र बन्ने संकेत देखाए । मेरो ओठमुख सुक्यो ।

एक कान दुई कान मैदान भएर मकैबारीको हावा सबैकहाँ पुगिसकेछ स्कुलमा । धन्न सर र म्याडमहरूसम्म पुगेन ।’ जीवन र रमिलाले मकैबारीमा दिउँसै रात पारे’ भनेर हल्ला फैलिएछ ।

झट्ट रमिलालाई सम्झेँ । कुरैकुराको यो डढेलोले उसमाथि के बितिरहेको होला ? स्कुलको चउरतिर आँखा घुमाएँ । तीन–चारजना साथीमाझ रमिला आँसु झार्दै पिलपिलाइरहेकी रैछे । आँसु पुछ्न जान पनि सकिनँ, त्यत्तिकै हेरिरहन पनि सकिनँ । आफ्नो कक्षाकोठामा पसेँ । कक्षाकै साथीहरूको हेराइ पनि शंकालु देखिए ।

त्यसपछिका केही दिन झन् कठिन हुँदै गए । हरेक दिन स्कुलमा मकैबारी काण्ड बल्झिरह्यो । नयाँ–नयाँ भिलेनसँगै घटनाको थरीथरी रङरोगन ।

कहिले आउँथे स्कुलबाट एसएलसी पास गरेर गइसकेका छुद्र टाइपमा दाइहरू, जो त्यो दिनबारे मबाट उत्खनन गराउन खोज्थे– ‘के भो, कसरी भो, कस्तो भो ?’ मानौं कुनै रोचक किस्सा मसँग होस् ।

कहिले रमिलाकै गाउँ नजिकैको केटा सुनाउँथ्यो, ‘उसकी आमाले अब ज्वाइँ बनाउने कुरा गर्न केटाको घर जान्छु भनेकी छ रे !’

यस्तो रे ! उस्तो रे !

यी अफवाह र गिज्याइहरू मलाई तर्साउन पर्याप्त भए ।

नानाभाँती प्रसंगले भर्खर मुना पलाउँदै गएको माया भने निमोठिन थाल्यो । त्यो उमेरमा त्यसरी आइपरेको काण्ड थेग्ने साहस ममा थिएन । एकोहोरो डरले मेरो शिरदेखि पैंतालासम्म काँपिरह्यो । नौ कक्षा पढ्ने किशोरवयमा त थिएँ !

नखाएको विष लागेर समाज र साथीभाइमाझ लाजमर्नु भएको थियो । आफूलाई त यस्तो छ भने रमिलामाथि के विपत्ति होला भन्ने फिक्री त लागिरहेको थियो । तर, कुरा काट्नेहरूलाई इज्जतको बेलुन फुटाउन अझ के बहाना दिनु भनेर उसँग भेट्ने र बोल्ने रहर बलजफ्ती मनैमा थुन्नुपरेको थियो ।

सम्बन्धमा टिकेर आलोचना खेप्ने तागत ममा भएन । उसले अझै पनि बहिनी मार्फत चिठी पठाइरही । चिठीमा ऊ सोध्थी, ‘बोल्न किन छाडेको ? चिठीको जवाफ खै ?’ उसका यस्ता तमाम प्रश्न आउँदा म तिनको तड्पाइ हेर्न मात्र सक्थेँ । समाजले जथाभावी सोचे पनि म आफूमा सही छु, मेरो माया जोगाएर अघि बढ्छु भन्ने आत्मबल र साहस कत्ति पनि भएन ।

मैले टाउको मोडेपछि रमिलाले खै के भनेर आफ्नो मन बुझाई । सायद थाकी । १० कक्षापछि एसएलसी हुँदै मैले स्कुल छाडेपछि सम्पर्कको धागो चुँडिन झन् सजिलो भयो । क्याम्पस पढ्न राजधानी पसेँ ।

पाँच वर्षपछि काठमाडौंमा हाम्रो भेट भयो । झन् उज्याली र राम्री भइछ । स्कुलमा वर्तमानमै रमाउने ऊ अब त भविष्यबारे सोच्ने भइछ । सुनाई, ‘अब आर्मीमा सेकेन्ड लेफ्टिनेन्टमा भिड्ने ।’

स्कुले बेलामा मायाको मोर्चा छोडेर हिँडेको थिएँ । तर, काठमाडौं बसाइमा उमेर र परिस्थितिले परिपक्वता थप्दै जाँदा आफैंसँग झगडा गरिरहन्थेँ, ‘त्यतिखेर आफ्नो माया जोगाउन किन अलिकता साहस गर्न सकिनँ ?’

उसको हातको औंलातिर हेरें, मैले दिएको औंठी थिएन । मन खिन्न भो । कर्तव्य छाडेर मैदानबाट भागेको सिपाहीले पेन्सनको आस गरेजस्तै मेरो लोभी मन !

‘औंठी खै त ?’ लोभी मनले सोधेछु ।

‘खै कता हरायो ।’ बडो बेवास्ताले चिसो जवाफ दिई । हिउँसँग ठोक्किएजस्तो भयो । मेरा ओठ जमेँ । सिंगो म नै जमेँ ।

त्यसपछि आर्मी–सपना ताकेका उसका पाइला लेफ्ट–राइट गर्दै ओझेल पर्दै गए ।

कान्तिपुर काेसेलीमा प्रकाशित कथा हामीे साभार गरेका हाैँ  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 Bigul Media P. Ltd

error: Content is protected !!