यसरि पर्दैछन् प्रहरी नै अनुसन्धानको घेरामा !

Leaderboard Banner
फाईल फोटो

काठमाडौँ, राजधानीमा हालै घटेका दुई छुट्टाछुट्टै घटनामा प्रहरीको पनि कमजोरी देखिएपछि प्रहरी नै अनुसन्धानको घेरामा तानिएका छन् ।

महानगरीय प्रहरी परिसर, काठमाडौँले ती घटनाका सम्बन्धमा पाँच प्रहरीमाथि अनुसन्धान थालेको छ ।

बिहीबार दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा एक युवतीमाथि भएको सामूहिक बलात्कारको घटनालाई गुपचुप राख्ने प्रयास गरेको आरोपमा महानगरीय प्रहरी वृत्त, दरबारमार्गका नायब प्रहरी उपरीक्षक तिलक भारती, प्रहरी निरीक्षक लक्ष्मण ठकुरी, प्रहरी नायब निरीक्षक चन्द भण्डारीमाथि अनुसन्धान शुरु गरिएको छ ।

आरोपित प्रहरीलाई वृत्तबाट सरुवा गरी अनुसन्धान अघि बढाइएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रामदत्त जोशीले जानकारी दिनुभयो ।

शैलेश कार्की नामका एक युवकमाथि ती युवतीलाई होटलमा बोलाएर आफ्ना तीन साथीसहित बलात्कार गरेको आरोप लागेको छ ।

सामूहिक बलात्कारजस्तो घटनामा आरोपितहरुले पीडित युवतीलाई रकम दिएर मिलापत्र गरेको घटनामा वृत्तका प्रहरी अधिकृतहरुलाई सहयोग गरेको आरोप लागेको छ ।

प्रवक्ता जोशीले पीडित युवतीलाई सम्पर्कमा ल्याउने प्रयास भइरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पीडितले प्रहरीमा लिखित रुपमा जाहेरी नै नदिएको देखिन्छ । पीडित भनिएकी युवतीसँग बयान लिएपछि मात्रै के भएको हो भन्ने थाहा हुन्छ ।”

सो घटनाबारे परिसरले गठन गरेको छानविन समितिका संयोजक समेत रहनुभएका जोशीले घटनामा प्रहरीको कमजोरी भए÷नभएकोबारेमा समेत अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

यसैगरी, कलंकीस्थित एक होटलमा गत सोमबार छापा हानी जुवा खेल्ने समूहलाई भाग्न लगाई उनीहरुको साथमा रहेको रु चार लाख र मोबाइल लुटेर भागेको आरोपमा प्रहरीमाथि नै छानविन थालिएको छ ।

प्रहरी नायब निरीक्षक मोहनबहादुर मल्ल र प्रहरी जवान मनोहर बुढा जुवाखालमा छापी हानी रकम लिएर भागेको आरोपमा अनुसन्धानमा तानिएका छन् ।

सो रकम र मोबाइलबारे उनीहरुले आफ्नो माथिल्लो निकाय महानगरीय प्रहरी वृत्त कालिमाटीमा जानकारी नै गराएका थिएनन् ।

जुवा खेल्ने समूहका केही व्यक्ति आफ्नो मोबाइल लिन वृत्तमा आएपछि मात्रै सो घटनाबारे वृत्तले जानकारी पाएको थियो ।

परिसरका प्रवक्ता जोशीले जुवा खेल्नेलाई भगाई उनीहरुको साथमा रहेका रकम लुटेको देखिएको र दोषीमाथि कारबाही अगाडि बढाइएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “लुटिएको भनिएको रु एक लाख ४० हजारमात्रै हामीले प्रहरीको साथबाट बरामद गरेका छौं तर, जुवाखालमा रहेकाहरुले रु चार लाख लुटेको आरोप लगाइरहेका छन् । ”

प्रहरी जवान बुढालाई निलम्बन गरिएको र नायब निरीक्षक मल्ललाई कारवाहीका लागि माथिल्लो निकायमा सिफारिश गरिएको पनि उहाँले जानकारी दिनुभयो । -रासस

प्रकाशित : बुधबार, माघ १७, २०७४२०:४०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

BREAKING: ७ दिनदेखि हराएका जोन तामाङ यस्तो अवस्थामा भेटिए [ भिडियो हेर्नुहोस् ]