यत्रो लक्का जवानले त कमाएर खानु नी के सारंगी रेटेर माग्ने जस्तो हिडेको भन्दा मन दुख्छ !

Leaderboard Banner

सिटन पुरी
पहिले पहिले गोरखपुर, कलकत्ताका र बम्बई कोठीमा बेचिएका नेपाली चेलीका कथा, कतै सासूले बुहारी मारेको, कतै भाइले दाइलाई मरेको तथा  फुक्लानको टापुमा लड्दालड्दै वीरगति प्राप्त गरेको गोर्खाली सेनाका विरताका गाथा सुनाउन समाचारका संवाहक बनेर गाउँघरमा सारङ्गी रेट्ने गन्धर्वहरुको पेशा आजभोलि लगभग लोपुन्मुख जस्तै भएको छ।  दुःख, वेदनाका पीडालाई सुन्दर शब्द र संगीतका मध्यमबाट र्याइ र्यान सारंगी रेट्दै गाउँघर गुन्झाउँने गन्दर्व भाकाहरु इतिहास जस्तै बनिसके।  देश तथा प्रदेशका घटनालाई लस्के, चाँचरी,  बारामास, सन्देश, धनसीरा, मल्लार, मालश्री, मंगला, सरुमैरानी, खलेनी, असारे लगायतका भाकाहरुमा गीतसंगीतको मध्यमबाट खबर दिँदै गाउँगाह्र  घुम्ने गन्धर्वहरु  करिव लोप नै भैसकेका छन् । त्यसबाहेक सूचना र प्रविधिको विकासले गर्दा गाउँगाउँमा खबर पुर्याउने गन्धर्वको पेशा अहिले एकाएक विस्थापित नै भएको छ।  अर्को कुरा अहिलेका गन्धर्व युवाहरु यस पेशामा लाग्न लजाउने तथा विदेशिने प्रचलनले गर्दा पनि यो पेशा लोप हुन पुगेको हो।

तर, अहिले पनि त्यही लोप भैसकेको गन्धर्वहरु पूर्खेउली पेशालाई संरक्षण र सम्वर्धन गर्दै राजधानी काठमाडौँका सडकपेटी र गल्लीगल्लीमा सारंगीको धुन बजाउँदै आफ्नो परिवारको जिविकोपार्जन गर्दै आएका ३ जना गन्धर्वहरु काठमाडौँको बसन्तपुरमा भेटिए ।  उनीहरुले आफ्नो कला प्रदर्शन गरेर आफ्नो परिवारको जीविकोपार्जन गर्दै आएका रहेछन् , त्यसको अलावा उनीहरुले आफ्ना बाबु-बाजेले अहिले सम्म धान्दै आएको पुर्खेउली पेशालाई पनि सम्मान पूर्वक जोगाउने प्रयत्न समेत गरेको देख्दा गर्वले हाम्रो पनि छाती फुल्यो । सारंगी बजाएरै देशका ५० भन्दा बढी जिल्ला घुमिसकेका भोजपुरका स्थाई निवासी २५ वर्षीय सुजन गन्धर्व, ३४ वर्षीय शिव गन्धर्व र ३८ वर्षीय रमेश गन्दर्वले भारतको दार्जिलिङ्ग, आसाम, सिक्किम, कोलकता लगायत अन्य विभिन्न ठाउँहरुमा समेत सारंगी बजाएर कतै स्टेज कतै, रेस्टुरेन्टमै गीत गाउदै हिडेको समेत बताए। पिता पुर्खाले गर्दै आएको पेशा सानै उमेरदेखि अंगालेर नेपाली कला र सस्कृतिको अस्तिव जोगाउदै हिडेका यी तिन युवाहरुले लोप हुँदै गएको लोक बाजा र सस्कृतिलाई जोगाउने मौका पाउदा आफुहरुलाई निकै गर्व र रमाइलो लाग्ने बताए।

हाल पूर्वको झापामा अस्थाई बसोबास गर्दै आएका शिव गन्दर्वकले सानै हुँदा हजुरबुवाको मृत्यु भएपछि सारंगी बनाउन समेत थालेका रहेछन्। एउटा सारंगी बनाउन उनलाई ३ देखि ४ दिन सम्म बताए । एउटा सारंगी १२ देखि १३ हजार सम्ममा बिक्रि गर्दै आएको बताएका छन्। कसैले घरको सजावटको लागि त कसैले सिक्ने उदेश्यले वर्षमा एक/दुई वटा मात्र सारंगी किन्ने गरेको सारंगी बिक्रिबाट जिविकोपार्जन गर्न गार्हो हुने उनको ठम्याई छ। उनले भने, ‘सारंगी बिक्रि गरेर त खान लाउन पुग्दैन, त्यसैले यसरी देशभर सारंगी बजाउदै हिडिराखेका छौँ।’ यसरी धुँवा धुलो नभनी हिड्दा त गाह्रो हुन्छ होला है भनि प्रश्न गर्दै तिनै जना मुसुक्क हास्दै भन्छन्, ” गार्हो त हुन्छ नै तर  भने जस्तो शिक्षा नभएको कारण र गाउघरतिर राम्रो जागिर नहुँदा अर्काको देशमा गएर दुख गर्नु भन्दा त आफ्नै बाउ बाजेदेखि गर्दै आएको पेशा गर्न पाउनु हाम्रो लागि खुसी र गर्वको कुरा हो।  र यो हातमुख जोर्नको लागि गर्ने पर्ने वाध्यता पनि हो।”

हाम्रो समाजमा अहिले पनि बाटो, चोक या गल्लीमा गित गएर, मादल बजाउर या बासुरी बजाएरे किन नहोस् आफ्नो कला प्रदर्शन गर्दै हिड्ने कलाकारहरुलाई घिर्णाभावले हेर्ने, तथा माग्नेको संज्ञा दिने प्रचलन छ । मानिसहरु सोच्ने गर्छन् ठूला ठूला स्टेजमा गाउने तथा बजाउने मात्र कलाकार हुन्। उनीहरुको कलालाई सम्मान गर्न सक्ने ह्रदय छैन, सयद हामीसँग ।

त्यसरी नै यी तीन मध्ये एक शिव गन्दर्वलाई पनि बाटोमा सारंगी बजाएर गीत गाउँदै हिड्ने क्रममा कति मानिसहरुले मगन्ते आदि इत्यादी जस्ता तुच्छ शब्द प्रयोग गर्ने तथा हेयको नजरले हेर्न थालेपछि यो कामै पनि छोडेर हिडु कि जस्तो सोच बिगतमा कुनै बेला आएको उनले स्मरण गरे। पहिले उनले सारंगी बजाउने काम च्यात्तै छोडेर अर्को काम पनि गर्न सुरु गरेको स्मरण गर्दै भने, “यो सबैले हेला गर्ने काम  (सारगी बगाउनु) भन्दा त बरु गाडी सिकेर गाडी चलाउँदा ठिक हुन्छ जस्तो लागेर साहुको गाडी लिएर चलाएँ। तर, गाडी चलाउँदा पनि भनेको बेला सुत्नु नपाउने, साहुको खटनमा गाडी चलाउनु पर्ने, साहुको किच-किच जस्ता सहन सकिन अनि फेरी आफुले जानेको पुर्ख्यौली पेशा सारंगी नै रेट्न थालें।” पूर्वान्चल गन्दर्व सांस्कृतिक उत्थान समाज, पथरी नामक सँस्था खोलेर सारंगी सिकाउने काम समेत गरिरहेका शिव आफु गन्दर्व हुनुमा निकै गर्व महशुस गर्छन्।  उनि भन्छन्, ‘अब म सारंगी छोडेर अन्य पेसामा लाग्दिन, मलाई लोप हुँदै गैरहेको सारंगी बाजालाई विश्वमाझ चिनाउने काम अझ सशक्त भएर लाग्न मन छ ।”

खासगरी, देशभर नै सारंगी बजाउदै हिड्ने शिव, सुजन र रमेश गन्दर्व अहिले देशको राजधानी काठमाडौँमा लोप हुँदै गैरहेको सारंगी बाजा र गन्दर्व पेशाको इतिहासलाई कायम राख्न आएको मौकामा हामीले उनीसँग भेट हुन पुग्यो। केहि पैसा कमाउला र हराउदै गरेको सारंगीको धुन राजधानीमा गुन्जाउन सके यसको प्रवर्धन र विकासमा केहि सहयोग पनि पुग्ने थियो, की भन्ने उदेश्यले काठमाडौँ छिरेका हौं, उनीहरुले भने। दिन कति जति कमाई हुन्छ भन्ने प्रश्नमा उनीहरु भन्छन्,  ‘दिनमा यत्तिनै नै कमाई हुन्छ भन्ने हुँदैन। कसैले पैसा दिन्छन्, कसैले त्यतिकै हेरेर मात्र जान्छन् ।  अझ कोहि-कोहि त सारंगीको धुन सुनेर धुरु धुरु रुन्छन् । आफ्नो कलाले कोहि मान्छे प्रभावित भएको देख्दा चाहिं धेरै खुसी लाग्छ। तर, यो महँगीमा थोरै कमाईले आफु पालिन त गाह्रो छ। अझ परिवार पनि पाल्नु पर्ने हुँदा कैले काहिँ अप्ठ्यारो पनि पर्ने गरेको छ।’ उनीहरुको गुनासो छ।

पश्चिमको कतिपय ठाउँमा पुगेर पूर्वेली भाका गाउँदा भाषा नझेजेर अप्ठ्यारो परेको अनुभव साट्दै शिव गन्दर्वले अलिकति हाँसोको फोहोर छाड्दै भने, ‘कतिपय ठाउँमा त हाम्रो भाषा नै नबुझेर पनि समस्यामा परियो नी।’  सडकमा सारंगी बजाएर गाउँदै हिड्दा धुलो-धुवाँले गर्दा कहिले बोल्नै पनि नसक्ने सम्म भएको अनुभव उनीहरुसँग छ। तीन जना मध्येका एक सुजन गन्दर्वले ठट्टा गर्दै भन्छन्, ‘अब हेर्नुस् मस्क लागेर गित गाउने कुरा भएन ठूलो धुवाँ त कति खाईयो खाईयो। अब त हाम्लाई धुलो नि पच्न थल्यो।’  उनीहरुले आफ्नो पेशाको कारणले भोग्नु परेका नामोठा अनुभवहरु पनि यसरी हामीसँग पोखे, “हेर्नुस, कसैले कति राम्रो गाएको पनि भने, कसैले यत्रो लक्का जवानले त कमाएर खानु नी के सारंगी रेटेर मगन्ते बनेर हिडेको भन्दै खिल्ली उडाए। कसैले निकै अश्लिल शब्द र व्यवहार समेत गरे । तर, हामीले यसरी गाली गर्नेहरुलाई यो हाम्रो नेपालीको लोप हुन लागेको संस्कृति र बाजा हो। यसलाई मर्न नदिन तपाईले साथ सहयोग चाहिन्छ भन्दै अनुरोध गर्ने गरेका छौं ।”

सारंगी गन्धर्वहरुको चिनारी हो र सारंगी रेटेर गीत गाउँदै हिड्ने गन्धर्वहरु पेशा हो। पेशा सानो र ठूलो हुँदैन त्यसैले हेरक व्यक्तिको पेशा र व्यवसायलाई सम्मान जान्नु पर्छ।  चाहे त्यो  बाटोमा बसेर सारंगी बजाएर गीत गाउने गाईने होस् या अन्य कुनै आफ्नो प्रतिभा देखाएर जिविका चलाउने व्यक्ति किन नहोस्। त्यसमाथि पनि लोप हुन लागेको हाम्रो पुरानो सारंगी बाजा र संस्कृतिलाई संरक्षण र सम्वर्धन गर्ने गन्दर्वलाई हेर्ने हाम्रो नजरिया नफेरीए हाम्रा पुराना संस्कृति र बाजागाजाको नामोनिसान पनि नमेटिएला भन्न सकिंदैन। त्यसर्थ नेपालको लोक सस्कृति र लोकबाजाको संरक्षण गर्न अब अग्रसर हुन जरुरी रहेको छ। हिजो गाउँगाउँ भेटिने गाइने दाइहरु आजभोली देखिन छोडीसके पुराना ती लस्के,चाँचरी, बारामास, सरुमरानी, असारे, मालश्री लगायतका भाकाहरु करिव लोप नै हुन लागिसेको अवस्था छ। अब पनि हामीले गन्धर्व जतिको पेशालाई हेय भावले हेरेर बस्यौं भने हाम्रो प्राचिन कला गुम्ने  निश्चयप्राय: छ।

पहिले गन्धर्वहरुलाई विवाह, ब्रतबन्ध, जमघट लगायतका कार्यक्रममा बोलाएर गित गाउँन लगाउने गरिन्थ्यो। अहिले जमाना फेरियो, प्रविधिले फड्को मरिसकेको छ। पहिले गन्दर्वले गर्ने काम अहिले पार्टीमा डिजे, र सामान्य कार्यक्रमहरुमा सिडी, डिभिडी प्लेयरले गर्न थल्यो।मनोरञ्जनको लागि पप, डिस्को जाने बढ्दो प्रचलनले गन्दर्व जतिको पेशामा ठूलो असर परेको छ।

त्यसैगरी पहिले पहिले राजा महाराजाक संदेश र विभिन्न घटना र खबर एक ठाउँबाट अर्को ठाउँ सम्म गीतको मध्यमबाट समाचार आदान प्रदान हुने गर्थ्यो| त्यो पनि अहिले प्रविधिको विकासले गर्दा मानिसहरुले घरमै बसी बसी सबै कुरा टेलिभिजन, पत्रपत्रिका, एफ एम रेडियो र इन्टरनेटको मध्यमबाट छिन्भरमै पाउन थालेपछि गन्दर्वको पेशामा लगभग पूर्णविराम नै लागेको छ।

तर पनि प्राचिन बाजा सारंगीको संरक्षण र सम्वर्धन गर्न आवश्यक छ।  किन की कुनै पनि देशको आफ्नो कला, सस्कृति नै त्यस देशको सम्पति हो।

प्रकाशित : सोमबार, माघ १५, २०७४१४:५५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

छिमेकीसँगको सम्बन्धकाबारे ओलीको बोल्ड अभिव्यक्ति! यो सानालाई अन्याय गर्ने समय होइन