नेपालमा ५० हजारको जागिर खाने मानिस छैनन् ?

Leaderboard Banner

काठमाडौं, माघ १३ – कामदारको अभावमा यातायात व्यवसाय क्रमशः धराशायी हुँदै गएको छ । यात्रुबाहक बस, मिनीबस, मालबाहक ट्रक, ट्रिपर, डोजरलगायतमा कामदार नपाएको सो क्षेत्रका व्यवसायीको गुनासो छ । ढुंगाखानी व्यवसाय सञ्चालन गर्दै आएका बालभक्त श्रेष्ठले ड्राइभर नभएका कारण ट्रिपर बिक्री गरेको बताउनुहुन्छ । उहाँसँग झण्डै ४५ वटा टिपर थिए । एक जना ड्राइभरलाई मासिक रु ५० हजारसम्म पारिश्रमिक दिने गरेको भए पनि उहाँको खानीमा ट्रिपर चलाउन एकजना पनि ड्राइभर छैनन् ।

अदक्ष व्यक्तिलाई काम सिकायो, दक्ष बनायो, सिप सिक्छन् त्यसपछि काम छोडेर विदेश गइहाल्छन्, त्यसैले व्यवसायलाई धरापमा पार्नुभन्दा ट्रिपर नै बिक्री गर्नु बालभक्तको रहर नभई बाध्यता हो । खलासीबाट ड्राइभर बन्ने चलन घट्दै गएपछि यातायात व्यवसायमा कामदारको अभाव देखिन थालेको हो ।

पहिले गाउँबाट कामको खोजीमा सहर छिर्ने युवा जमात अहिले कामको खोजीमा विदेश जाने भएकाले यहाँ खलासी बस्न रुचाउँदैनन् । खलासी काम खासै गाह्रो मानिँदैन । तर पनि पेशाको सम्मान नगर्ने बानीका कारण यहाँ यातायात मजदूरको अभाव बढ्दै गएको हो ।

उमेर नपुगेका बालबालिकालाई खलासी राख्न कानूनले दिँदैन । पढेलेखेका मानिस खलासीको जागिर खान मान्दैनन् । महिला कामदारले खलासी पेशा गर्न रुचाएको पाइँदैन । त्यसैले यातायात व्यवसाय धर्मसंकटमा पर्दै गएको छ ।

माध्यमिक शिक्षा पढ्न छोडेका विद्यार्थी र घरबाट भागेर कामको खोजीमा शहर छिरेका युवा यातायात क्षेत्रका कामदार हुन् । तर उनीहरु शहर नभई विदेश जान थालेपछि कामदार पाउन छोडेको यातायात व्यावसायी अर्जुन शाहीले बताउनुभयो ।

उच्च माविका प्रधानाध्यापक रवि श्रेष्ठ विद्यालयमा रोजगार माग्न आउनेको संख्या पर्याप्त भएको र उहाँहरुले थोरै पारिश्रमिकमा पनि काम गर्न स्वीकार गर्छन् तर पढेलेखेका व्यक्ति सिप सिकेर अन्य वैकल्पिक पेशा किन गर्दैनन् भनी प्रतिप्रश्न गर्नुहुन्छ ।

बनेपाका कमल तामाङले डोजर चलाउने ड्राइभरलाई मासिक तलब रु ५० हजार र भत्ता रु एक एक हजार दिने गरेको भए पनि टिकेर काम गर्ने ड्राइभरको खाँचो रहेको बताउनुहुन्छ ।

एकतिर स्वदेशमा पेशालाई इज्जत नगर्ने, सिप सिक्न नचाहने, अदक्ष र अर्धदक्ष युवा विदेश जान रुचाउनुको मुख्य लहडबाजी र अर्काको देखासिकी प्रमुख कारण हो ।

सिप नसकेका युवा अर्काको देखासिकी र लहलहैमा स्वदेशको राम्रो काम छोडेर विदेश पुग्छन् । त्यहाँ राम्रो काम नपाएको, कम्पनीले दुःख दिएको आदि समाचार विभिन्न पत्रपत्रिकामा खबर नछापिएका भने पनि होइनन्, तर यसप्रति उनीहरुको खासै चासो भने छैन् ।

मेहनती एंव पेशालाई सम्मान र इज्जत गर्ने जो कोही युवा काम नपाएर भौतारिनु पर्दैन । बजार भएको पेशामा अल्छी नमानीकन काम गर्ने हो भने दुईछाक खान परदेशको जमिन टेक्नुनै पर्छ भन्ने बाध्यता छैन भन्नुहुन्छ– अरनिको यातायात सेवा समितिका पूर्व अध्यक्ष रमेश वैद्य । रासस

प्रकाशित : शनिबार, माघ १३, २०७४१८:०६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

दोहरो भिडन्तमा “टिके डाँका” घाइते