चराको व्यवसायबाट मनग्य आम्दानी

Leaderboard Banner

 पाल्पा, ६ माघ । टर्की (चरा) पालन व्यवसायबाट यहाँका एक युवाले अहिले वार्षिक रु सात लाखसम्म आम्दानी गर्नुहुन्छ । आजभन्दा तीन वर्ष अघि इन्टरनेटको सहायताबाट यो व्यवसाय शुरु गर्नुभएका माथागढी गाउँपालिका रुप्सेका युवा ताराप्रसाद पाण्डेले यो व्यवसायबाट अहिले वार्षिक रु सात लाखसम्म आम्दानी गर्न थालेको हो ।

कक्षा १२ सम्मको अध्ययन गर्नुभएका पाण्डेले लुम्बिनी अञ्चलमा नै पहिलो पटक शुरु गर्नुभएको यो व्यवसायमा अहिले सबैको आकर्षण बढ्दो छ । नयाँ व्यवसाय थालनी भएकाले पनि टर्की चरा हेर्नैका लागि उहाँको फार्ममा धेरै जना पुग्ने गर्छन् ।

पाण्डे सानै उमेरदेखि नै सूचना र प्रविधिको खोजी गर्ने कार्यमा निकै जिज्ञासु स्वभावका हुनुहुन्थ्यो । “सूचना प्रविधिमा विभिन्न खोज अनुसन्धान गर्दै जाँदा टर्की नामको पक्षी फेला पारे प¥यो, पक्षी नयाँ र लाभदायिक ठानेपछि व्यवसाय शुरु गरेको हुँ” पाण्डेले भन्नुभयो ।

पोखराबाट ५० वटा टर्की चरा ल्याएर व्यवसाय चलाउनुभएका पाण्डेले राम्रो आम्दानी गर्न सफल हुनुभएको छ । त्यही टर्की चराले आज उहाँलाई देश विदेशमा चिनिने अवसर सिर्जना भएकोमा खुशी व्यक्त गर्नुहुन्छ ।

नयाँ व्यवसाय भएकाले शुरुमा घरपरिवार र साथीभाई कसैबाट पनि सहयोग मिलेन्, उहाँले भन्नुभयो– “अहिले उहाँको व्यवसायको घरपरिवार, साथीभाई सबैले खुलेरै प्रशंसा गर्ने मात्र नभई साथ र सहयोग दिन थालेको छ ।”

पाण्डेले अहिलेसम्म तीन पटक चल्ला उत्पादन गरी बजारमा बिक्री गरिसक्नुभएको छ । १२ देखि १५ केजीसम्मको उत्पादन लिन सकिने टर्कीको मासुमा चिल्लोपना अत्यन्त कम हुने भएकाले बिक्रीका लागि बजारको समस्या नभएको पाण्डे बताउनुहुन्छ ।

स्थानीयस्तरमा यसको मासुको कमै महत्व रहे पनि पोखरा, काठमाडौँजस्ता ठूला शहरमा यसले राम्रो बजार पाएको छ । पाण्डेले टर्कीसँगै एक हजार ५०० वटा हाँस पनि पाल्नुभएको छ ।

काम र दामको खोजीमा शिक्षित युवा खाडीमुलुकमा पसिना बगाउन बाध्य छन् । आफ्नै देशमा घरपरिवारसँगै बसेर अर्थोपार्जन गर्न पाउँदा आनन्द लागेको पाण्डे भन्नुहुन्छ ।

कृषि व्यवसायलाई प्रोत्साहन गर्न भनी सरकारले विभिन्न कार्यक्रम ल्याए पनि आफूले अहिलेसम्म कुनै सहयोग प्राप्त नगरेको उहाँले बताउनुभयो । माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष थापाले कृषि व्यवसायमा लाग्ने युवालाई गाउँपालिकाबाट प्रोत्साहनका लागि सहयोग गर्ने बताउनुहुन्छ । रासस

प्रकाशित : शनिबार, माघ ०६, २०७४१६:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

तीन दिनमा नेप्से ३४ अंकले ओरालो