वर्षौंपछि श्रीमतीलाई देख्न पाउँदा शर्मा र विक दंग

Leaderboard Banner

बेनी, म्याग्दी । आठ वर्षअघि आँखाले देख्न छोडेपछि निकै कष्टकर जीवन बिताउँदै आएका बेनी नगरपालिका–४, सिंगा डाँडाखेतका खिमनाथ शर्मा आठ वर्षपछि आँखा देख्न सक्ने हुनुभएको छ ।

म्याग्दीमा रहेको लायन्स क्लबको आयोजनामा सदरमुकाम बेनीमा सञ्चालित दुई दिने निःशुल्क आँखा शिविरमा मोतियाबिन्दुको शल्यक्रिया सफल भएपछि आठ वर्षपछि श्रीमती पार्वती शर्मालाई देख्न पाउँदा शर्मा दंग पर्नुभएको हो । आँखा देख्ने भएपछि शर्माले आफ्नो उपचारमा खटिएका चिकित्सकलाई धन्यवाद दिँदै श्रीमती पार्वती शर्माले गरेको दुःख अब आफूले गर्ने बताउँदै घर फर्किनुभयो । वैदेशिक रोजगारीका सिलसिलामा खाडी मुलुकमा २४ वर्ष बिताएका शर्माले आठ वर्षपछि श्रीमतीलाई देख्न पाएको बताउनुभयो ।

यसैगरी, शर्माजस्तै तीनवर्ष अघि आँखाले देख्न छोडेपछि अरुको सहारामा जीवन बिताउँदै आएका बेनी नगरपालिका–५, पुलाचौरका हर्कबहादुर विक तीन वर्ष पछि आँखा देख्न सक्ने हुनुभएको छ । तीनवर्ष पछि श्रीमती लालकुमारी विकलाई देख्न पाउँदा विक पनि दंग पर्नुभएको छ ।

उमेरले ६५ काटेका विकलाई आँखा बन्द भएपछि रात र दिन एकै लाग्थे । बूढेसकालमा आँखाले समेत धोका दिएपछि श्रीमतीको सहयोगमा दिन बिताउने गर्नुहुन्थ्यो । शरीर र हात पाखुरा कमजोर भएपनि विकका आँखामा दृष्टि फर्किए पछि आफू युवा अवस्थामै फर्किएको महसुस भएको उहाँले बताउनुभयो ।

प्रकाशित : शुक्रबार, माघ ०५, २०७४११:४०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

अपराधीलाई जसरी पनि कानूनी दायरामा ल्याउँछु: प्रहरी अतिरिक्त महानिरीक्षक नेपाल