पर्वतको महभिर खोलामा साहसिक खेल ‘क्यानोनिङ’ शुरु [ फोटोफिचर ]

Leaderboard Banner

फलेवास, पर्वत । साहसिक पर्यटनमा रुचि राख्ने स्वदेशी एवं विदेशीका लागि अग्ला झरनाबाट झर्ने क्यानोनिङ (छाँगावरोहण) खेल पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङस्थित महभिर खोलामा शुरु भएको छ ।

जिल्लाकै मनोरम खोला र बाह्रैमास एकै किसिमले सञ्चालन हुने उक्त खोलामा क्यानोनिङ सञ्चालन गरिएको हो । हिमाल आरोहण, पदयात्रा, जलयात्रा, प्याराग्लाइडिङ, वञ्जीजम्प जस्तै साहसिक पर्यटकीय गतिविधिका रुपमा हिमाली र पहाडी क्षेत्रमा रहेका अग्ला पहाडका झरनामा क्यानोनिङ खेलको विकास गर्न सकिने सम्भावनालाई लक्षित गर्दै धौलागिरिमै पहिलोपटक क्यानोनिङ सञ्चालन गरिएको सञ्चालक उद्धिमबहादुर गुरुङले जानकारी दिनुभयो ।

क्यानोनिङका लागि उक्त खोलामा सम्भाव्यता अध्ययन भइसकेको र यसै सातादेखि नियमितरुपमा सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । पर्वत सदरमुकाम कुश्माबजारबाट झण्डै सात किमीको दूरीमा अवस्थित उक्त स्थानमा गुरुङ बस्तीको बाहुल्यता रहेको छ ।

स्थानीय चनौटेमा होमस्टे विस्तार र महभिर खोलामा क्यानोनिङ एकैपटक शुरु गरिएको गुरुङले जानकारी दिनुभयो । उक्त स्थानसम्म पुग्नका लागि ग्राभेलिङ सडकको व्यवस्था रहेको छ । कुश्माबजारबाट आधा घण्टामै पुग्न सकिने तथा नेपालको मुख्य पर्यटकीय शहर पोखराबाट समेत साढे दुई घण्टाको दूरीमा उक्त स्थानमा पुग्न सकिने भएकाले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्ने गुरुङको विश्वास रहेको छ ।

एकीकृत सामुदायिक विकास केन्द्रद्वारा सञ्चालनमा ल्याइएकोे क्यानोनिङमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई व्यवस्थापन, पूर्वाधार निर्माण तथा अन्य विविध तयारीसमेत भइरहेको स्थानीयवासी राजन गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाको समग्र पर्यटन क्षेत्रको विकासका लागि यस क्यानोनिङको महत्वपूर्ण योगदान रहने विश्वास लिएका छौँ ।

नेपालका लमजुङ, कास्की, काठमाडौँ, सिन्धुपाल्चोक, नुवाकोटलगायत जिल्लाका २० भन्दा बढी झरनामा हाल क्यानोनिङ सञ्चालन हुँदै आएकामा साविक धौलागिरि अञ्चलमा पहिलोपटक उक्त क्यानोनिङको सञ्चालन भएको सञ्चालक गोलमान गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार पर्वत हुँदै हिमालपारिको जिल्ला मुस्ताङ, म्याग्दी, राउण्ड अन्नपूर्ण तथा धौलागिरि जाने पर्यटकलाई पनि उक्त क्यानोनिङसम्म लैजान सकिने र एक दिन उक्त स्थानमा राखेर अर्को दिन गन्तव्यतर्फ पठाउने गरी तयारी भइरहेको समेत गुरुङले जानकारी दिनुभयो ।अहिलेसम्म नेपालमा वार्षिकरुपमा स्वदेशी तथा विदेशी गरी करिब १० हजारले क्यानोनिङ गर्दै आएकामा यो झरनामा पनि वार्षिक एक हजारसम्म पर्यटकलाई भित्र्याउन सकिने सञ्चालक समितिको विश्वास रहेको छ ।

क्यानोनिङ सञ्चालनका लागि टानसँग समन्वयसमेत भइरहेको बताइएको छ । क्यानोनिङ सञ्चालनका लागि स्थानीय साझेदार संस्थासँगसमेत समन्वय गरेर अघि बढिने भएको छ । यस क्षेत्रमै पहिलोपटक नमूनाका रुपमा सञ्चालन गर्न लागिएको क्यानोनिङका कारण आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्ने, स्थानीय होमस्टे सञ्चालकको व्यवसाय प्रवद्र्धन हुने र केही मात्रामा रोजगारीसमेत सिर्जना हुने एकीकृत सामुदायिक विकास केन्द्रका अध्यक्ष गोलमान गुरुङले जानकारी दिनुभयो ।

अहिले परीक्षणका क्रममा सहभागी आन्तरिक तथा बाह्य पर्यटक र क्यानोनिङ विज्ञहरुले समेत उक्त झरनामा प्रचुर सम्भावना रहेको र यहाँ एकपटक क्यानोनिङ गर्नेहरु सधैँ लोभिने स्थानीयवासी राजन गुरुङले जानकारी दिनुभयो । उहाँले धौलागिरिका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा आउने जोसुकै पर्यटकसमेत नियमित क्यानोनिङ सञ्चालनपछि यहाँ आउने विश्वास बताएका थिए ।

गुरुङ समुदायमा रहेको होमस्टेमा अर्गानिक खाना, दिउँसोमा क्यानोनिङलगायत उक्त क्षेत्रमा रहेका वनजंगल, जडीबुटी र वन्यजन्तुको शिकारलगायतका प्याकेज कार्यक्रम बनाउनेसमेत तयारी भएको बताइएको छ ।

प्रकाशित : सोमबार, माघ ०१, २०७४१२:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

मकर सङ्क्रान्तिमा नुवाकोटमा चालीस हल गोरु जुधाइँदै: यस्तो छ गोरु जुधाईको इतिहास