किन पुगे प्रधानन्यायाधीश गोपाल पराजुली रुकुमकोट ?

Leaderboard Banner

काठमाडौँ, २८ पुस  – प्रधानन्यायाधीश गोपाल पराजुलीले संविधान कार्यान्वयनको चरणमा न्यायमा नागरिकलाई सर्वसुलभ पहुँच पु¥याउन आवश्यक रहेको बताउनुभएको छ ।

रुकुमकोट जिल्ला अदालतको आज उद्घाटन गर्दै प्रधानन्यायाधीश पराजुलीले संविधान कार्यान्वयनको चरणको क्रममा रुकुमकोट जिल्ला अदालतको शुरुवात हुनु महत्वपूर्ण उपलब्धि भएको र यो जिल्लाका नागरिकमा न्यायको पहुँच बढाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले न्यायपालिकाका विषयमा कतिपय अफवाह फैलाउने प्रयत्न भएको भन्दै वास्तविकता बाहिर आएपछि सबै कुराको समाधान हुने र न्याय र न्यायिक प्रक्रियाबाट अदालत विचलित नहुने बताउनुभयो ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले संघीय व्यवस्था कार्यान्वयन भएर नयाँ संरचना निर्माण हुँदै गर्दा अभाव भए पनि समयक्रमसँगै यसले मूर्तरुप लिने बताउनुभयो । उहाँले जिल्ला अदालतको स्थापनाले रुकुम पूर्वका जनतालाई न्यायमा पहुँचको विस्तार भएको उल्लेख गर्नुभयो ।

रुकुम पूर्वका प्रतिनिधिसभा सदस्य कमला रोकाले ४४ वर्षपछि रुकुमकोटबाट स्थानान्तरण भएर मुसिकोट सरेको संरचना फेरि फर्कनु र आफ्नै आँगनमा अदालत पाएपछि रुकुमेली जनता खुशी भएको बताउनुभयो ।

सो अवसरमा न्याय परिषद्का सदस्य पदम वैदिक, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नहकुल सुवेदी, रजिष्ट्रार महेन्द्रनाथ उपाध्यायले छिटो छरितो न्याय दिएमात्र सबैका लागि न्याय हुने धारणा राख्नुभएको थियो । (रासस)

प्रकाशित : शुक्रबार, पुष २८, २०७४२२:५३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

डा. गोविन्द केसीले भोलि अनसन तोड्ने