झमकको भन्दा पनि दयनीय अवस्थाकी ‘पूरा’ को ‘नयाँ सोच’ विमोचन

Leaderboard Banner

काभ्रे, २५ पुस । साहित्यका क्षेत्रमा झमक घिमिरेको नाम निकै चर्चामा छ, शारीरिक रुपमा अशक्त भएर पनि साहित्यमा कलम चलाउने साहित्यकारका रुपमा ।

झमकले खुट्टाको औँलाको सहायतामा आफ्ना रचना लेख्ने गर्नुभएको छ । तर कुनै पनि यस्तो साहित्यकार नहोला जसले हात, खुट्टा केही नचल्दा पनि देब्रे हातको पौँजा (हत्केला) को पछाडीको भागको सहायताले ट्याबलेट् (मोबाइल) थिचेर आफ्ना रचना लेख्ने । त्यसरी आफ्नो साहित्य लेख्ने पहिलो साहित्यकारका रुपमा चिनिनुहुन्छ, समिता श्रेष्ठ ‘पूरा’ । उहाँको जन्म काभ्रेपलाञ्चोक जिल्लाको तत्कालीन बनेपा नगरपालिका–४, शेरामा २०४७ साल पुस २४ गते भएको थियो ।

“कुरा विसं २०६३ पुस २ गतेको हो । बहिनी कक्षा ९ मा पढ्दै थिइन्, उनी परीक्षा दिएर घर आएकी थिइन्, उनी भाउजुसँग घर नजिकैको पसलमा जाँदै गर्दा अचानक बाटोमै ढलिन्,” पूराकी फुपू निर्मला श्रेष्ठले भन्नुभयो, “ढल्ने बित्तिकै उनले दुवै हातको मुठ्ठी बाँधिन् र काम्न थालिन् ।” उनी ढल्ने बित्तिकै अस्पतालमा पु¥याएको तर चार महिना अस्पतालमा राख्दा पनि उनको अवस्था भने सामान्य नभएको उहाँले बताउनुभयो । पहिले ह्विलचियरमा बस्न सक्ने र बोल्न पनि सक्ने पूरा अहिले भने बोल्न पनि सक्नुहुन्न भने ओछ्यानमा मात्रै सीमित हुनुहुन्छ । उहाँलाई परिवारले समय बिताउन ट्याबलेट् दिएको छ । त्यसमार्फत उहाँले समाचार हेरेर विश्वका बारेमा जानकारी लिनुहुन्छ भने फेसबुकसमेत चलाउनुहुन्छ । ट्याब्लेट्को सहायताबाट ‘पूरा’ ले समसामयिक विषयमा विभिन्न कविता र कृतिसमेत लेख्नुभएको छ ।

उहाँको पहिलेदेखिको नै सपना थियो, आफ्नो कृति प्रकाशन गर्ने । समाजसेवी तथा शिक्षासेवीसमेत रहनुभएकी उहाँकी फूपू निर्मलालाई कृति प्रकाशन गरिदिन पूराले आग्रह गर्दै आउनुभएको थियो । केही समय भन्दाभन्दै आलटाल गरिरहँदा जति उपचार गरेपनि समिताको अवस्था गम्भीर हुँदै गएपछि शब्दयात्रा प्रकाशनलाई आग्रह गरेको र उनको कृति रचना गर्ने सपना पूरा भएको निर्मलाले बताउनुभयो । पूरा शौचालय जान, खाना खान र आफैँ सुत्न, उठ्नसमेत सक्नुहुन्न । उहाँको सेवाका लागि उहाँकी आमा सावित्री खटिनुहुन्छ । आफ्नो अवस्थाकै कारण पढाइसमेत पूरा गर्न नसक्नुभएको र बाहिरी दुनियाँबाट समेत अलग्गिनुभएको पुराको आत्मविश्वास भने बलियो छ । ‘पूरा’ उहाँ आफैँले राखेको साहित्यिक उपनाम हो ।

समिता श्रेष्ठ ‘पूरा’ को लघु उपन्यास ‘नयाँ सोच’ को विमोचनका लागि शब्दयात्रा प्रकाशनले सोमबार बनेपा–४ मा लेखिकाको जन्मोत्सवका अवसरमा पुस्तक सार्वजनिकीकरण कार्यक्रमको आयोजना गरेको थियो । विमोचन कार्यक्रममा बोल्नुहुँदै प्रकाशनका अध्यक्ष हरि मन्जुश्रीले मानिस शारीरिक रुपमा अशक्त भएपनि मानसिकरुपमा उसको इच्छाशक्ति प्रबल भए जस्तोसुकै काम पनि गर्न सक्ने बताउनुभयो । “परिवारको साथ भएन भने बलियो मान्छे पनि अशक्तजस्तै हुन्छ ।” मन्जुश्रीले भन्नुभयो । प्रत्येक काम पूरा गर्न परिवारको साथ र सहयोग अपरिहार्य रहेको उहाँले बताउनुभयो । पूराले लेखेका अन्य कृति पनि प्रकाशन गर्न शब्दयात्रा प्रकाशन तयार रहेको उहाँले बताउनुभयो ।

पूराले लेखेको उपन्यास ४२ पेजको छ, जसलाई उहाँले २६ वटा भागमा विभाजन गर्नुभएको छ । उपन्यासमा उहाँले विदेशिएका युवालाई आफ्नै देशमा बसेर देशको विकास गर्न सुझाव दिनुभएको छ भने नेपाल कृषि प्रधान देश भएकाले कृषिमा आधुनिकीकरण ल्याउनसमेत आग्रह गर्नुभएको छ ।

– मीना घोरसाइने/रासस

प्रकाशित : मङ्गलबार, पुष २५, २०७४११:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

“सम्मानित अदालत कुनै कानुनको धारमा होइन जनताको विश्वासमा अडिएको हुन्छ ” – गगन थापा