सिंहदरबारभित्रै बेथितिलाई प्रश्रय , काम नगर्ने ठेकेदारलाई बारम्बार ठेक्का

Leaderboard Banner

काठमाडौं । काममा ढिलासुस्ती गर्ने र सम्झौताबमोजिम समयमै काम सम्पन्न नगर्ने ठेकेदारलाई कारबाहीको सट्टा उल्टै अर्काे ठेक्का दिने परिपाटीका कारण मुलुकको प्रशासनिक केन्द्रमै समयमा कुनै पनि निर्माण कार्य सम्पन्न नभएको भेटिएको छ । देशभरको कामलाई निगरानी गर्ने सर्वाेच्च प्रशासनिक केन्द्र सिंहदरबारकै सरकारी भवन निर्माणको ठेक्का पाएका ठेकेदारहरूले समयमै काम नसक्दा पनि कारबाहीको साटो उनीहरू अर्काे ठेक्काबाट पुरस्कृतसमेत गर्ने गरेको खुलासा भएको छ । अाजकाे राजधानी दैनिकमा समाचार छ ।

समानान्तर निर्माण सेवा र चक्रेश्वरी निर्माण सेवाको साझेदारीमा २०७० सालमा तीन वर्षभित्र काम सम्पन्न गर्ने गरी राष्ट्रिय सतर्कता केन्द्रको भवन निर्माण गर्ने ठेक्का दिइएको थियो । उक्त कम्पनीले सम्झौतामा उल्लेख भएको समयमा निर्माण सम्पन्न गर्न सकेन । उक्त भवन निर्माणका लागि सरकारले आर्थिक वर्ष २०७०÷७१ मा १३ करोड ६ लाख ९६ हजार ७५५ रुपैयाँ तिर्ने र कम्पनीले तीन वर्षभित्र सो काम सम्पन्न गर्नुपर्ने सम्झौता भएको थियो ।

समयमा काम नभएपछि उक्त निर्माण कम्पनीले समय थप गर्न आग्रह गर्दै सिंहदरबार पुनर्निर्माण समितिमा निवेदन दियो । समितिले पनि कम्पनीको मागबमोजिम ३० जेठ २०७४ मा काम सक्नुपर्ने गरी समय थप ग¥यो । तर, थप समयमा पनि कम्पनीले काम सम्पन्न गर्न सकेन । राष्ट्रिय सतर्कता केन्द्रको भवन अहिले पनि सम्पन्न नभएको समितिले जनाएको छ ।

समिति स्रोतका अनुसार अहिले ती निर्माण कम्पनीहरूले फेरि समय थप गर्न ‘लबिइङ’ गरिरहेका छन् । तर, के आधारमा समय थप गर्ने भन्ने विषयमा समिति र निर्माण कम्पनीबीच कुरा मिलिरहेको छैन ।

यसरी समयमा काम नसकेको समानान्तर निर्माण सेवाले अहिले फेरि कुल १९ करोड ३३ लाखमा बन्न लागेको रक्षा मन्त्रालयको पाँचतले भवनको ठेक्का पारिसकेको छ । सो भवनको निर्माण कार्य भने धमाधम भइरहेको समितिले जनाएको छ ।

अर्काेतर्फ राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रको भवन निर्माणको पनि अवस्था त्यस्तै छ । केन्द्रको भवन निमांणका लागि २२ असार २०७२ सम्म कार्य सम्पन्न गर्ने गरी चक्रेश्वरी निर्माण सेवासँग २३ असार २०७० मा ८ करोड २९ लाख ४० हजार रुपैयाँ सरकारले तिर्ने गरी सम्झौता भएको थियो । सम्झौताअनुरूपको समयमा निर्माण कम्पनीले काम गर्न नसकेपछि सो कम्पनीलाई पनि पटकपटक समय थप गरिएको छ । सतर्कता केन्द्रको भवनको काम तोकिएको समयमा सम्पन्न गर्न नसकेको सो कम्पनीले यो भवन निर्माण झनै ढिला निर्माण गरिरहेको छ । साइटको अवस्था परिवर्तन भएको कारण खुलाई समय थप गरिएको सो भवनको निर्माण पनि अहिलेसम्म सकिएको छैन ।

राष्ट्रिय सतर्कता केन्द्रको भवन निर्माणका लागि अघिल्लो आर्थिक वर्षमा तिरेको १२औं बिलसम्म ४७ लाख २५ हजार ९४९ रुपैयाँ समायोजन मूल्य थप गरी जम्मा ९ करोड ६ लाख १४ हजार भुक्तानी गरिएको थियो । यसरी समयमा काम हुन नसक्दा यो ठेक्काको १२औं बिलसम्म मूल्य समायोजनबापत मात्रै उक्त रकमको आर्थिक व्ययभार थपिँदै गएको महालेखाको प्रतिवेदनले समेत आंैल्याएको छ ।

सिंहदरबार पुनर्निर्माण समितिका सदस्य सचिव प्रकाशबहादुर रघुवंशीले निर्माणसम्बन्धी प्रक्रिया र काम गर्ने प्रक्रिया सिंहदरबारभित्र र बाहिर एउटै रहेको भन्दै यो देशभरिकै समस्या रहेको प्रतिक्रिया दिए ।

अहिले सिंहदरबारभित्र यी तीनवटा भवन निर्माणबाहेक संसद् सचिवालयका दुई भवन र राष्ट्रिय सुरक्षा परिषद्को भवन निर्माणको काम चलिरहेको छ । यी कामहरू भने सन्तोषजनक रूपले अघि बढिरहेको समितिले जनाएको छ ।

यसबाहेक पनि सिंहदरबारस्थित महान्यायाधिवक्ताको कार्यालयका लागि प्रीफ्यांक भवन बनाउने कामदेखि सिंहदरबारस्थित सर्वाेच्च अदालतका लागि प्रीफ्यांक भवनका तीनवटा ब्लक बनाउनेसम्मका काममा पनि यसअघि पटकपटक म्याद थप गर्ने गरिएका उदाहरणहरू सिंहदरबारभित्रै देखिएका छन् ।

प्रकाशित : आइतबार, पुष १६, २०७४०२:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

एमाले नेताको अगुवाइमा मोसो दलेर दम्पतीलाई गाउँ निकाला: यसरी भयो घटना