मदन भण्डारीकै अडानले यस्तो राष्ट्रघाती कदम रोकियो…

Leaderboard Banner

राजतन्त्र हटाउन माधवको प्रस्ताव

२०/२१ फागुन ०४६ मा जनआन्दोलन निरन्तर बढिरहेकै बखत पाटनको च्यासलमा नेकपा मालेको केन्द्रीय समिति बैठक बस्यो । महासचिवले बैठकमा एजेन्डा राखेपछि केन्द्रीय सदस्यहरूले थप एजेन्डाबारे आ–आफ्ना धारणा राख्ने चलन थियो । महासचिव मदन भण्डारीले एजेन्डा पेस गरेपछि माधव नेपालले सुरूमै प्रस्ताव राखे, “यो आन्दोलनलाई उचाइमा पुर्‍याउन छिमेकी मित्रराष्ट्र भारतले यथेष्ट सहयोग गर्ने भनेको छ ।”

“के सहयोग ?” मदनले सोधे ।

“हतियारको सहयोग,” माधवले सगर्व भने ।

“हतियार चलाउन तालिम लिनुपर्‍यो । हामीसँग अनुभवी कार्यकर्ता छन् र ?” मदनले फेरि सोधे ।

“हतियार चलाउने मानिस पनि आउँछन्,” माधवले फरर्र उत्तर दिए । आन्दोलनलाई गणतन्त्रमा पुर्‍याउन सहयोग स्वीकार्नु पर्ने व्याख्या समेत सुनाए, माधवले ।

म र सीपीले बोल्न समय मागेका थियौँ । मदनले चुप लाग्न इसारा गरे । र, आफैं बोले, “होइन विवेक (माधवको भूमिगत कालको नाम) कमरेड यो कस्तो प्रस्ताव हो ? पार्टीको केन्द्रीय कमिटी बैठकमा विदेशी सेना भित्र्याउने प्रस्ताव ल्याउन मिल्छ ? भारतीय सेना त के चिनियाँ लालसेना आए पनि हामी स्वीकार्दैनौँ । इतिहासको विकासक्रममा राजतन्त्र स्थापित भयो । आफ्नै क्रियाकलापका कारण समयक्रममा नेपाली जनताको हातबाट यसको प्राण जान्छ । तपाईंको यस्तो प्रस्ताव कम्युनिस्ट पार्टीप्रतिको ठूलो अपमान हो । राष्ट्रको स्वाभिमान लुट्ने चाल हो । त्यसैले यसलाई फिर्ता लिइहाल्नोस् ।” माधवको प्रस्ताव माइन्युट त हुन पाएन नै, बोली नै फिर्ता लिन लगाए, मदनले ।

त्यसपछि चैत २ मा च्यासलमै मालेको केन्द्रीय कमिटीको अर्को बैठक बस्यो । अघिल्लो बैठकमा अस्वीकृत प्रस्ताव फेरि माधवले दोहोर्‍याए, “एकदम जिम्मेवार तहबाट भारतीय सहयोग आउने भएको छ । हतियार नेपालीहरूले नै प्रयोग गर्ने गरी ।”

“कसरी ?” मदनले सोधे ।

“भारतीय सेनामा कार्यरत नेपाली जवानहरूलाई छुट्टीमा नेपाल पठाइन्छ र उनीहरूले ती हतियार चलाउनेछन् । अब जसरी पनि गणतन्त्र ल्याउनुपर्छ,” माधवले निर्धक्क भने ।

यसपटक मदनले अघिल्लो पटकभन्दा बेस्सरी झाँटेपछि माधवले फेरि त्यस्तो प्रस्ताव ल्याएनन् । मदनकै अडानले राष्ट्रघाती कदम रोकियो, त्यसबेला ।

खुलामञ्चमा चिर्कटो त्रास
त्यसबेला मबाहेक मालेका सबै नेता भूमिगत थिए । म टुँडिखेलको मञ्चमा बसिरहेको थिएँ । विजय जुलुस चारैतिरबार टुँडिखेलतिर सोहोरिरहेको थियो । मानव सागर उर्लेको देखेर एकतमासले रोमाञ्चित बनिरहेको थिएँ । झल्यास्स प्रदीप नेपालसँग मेरो आँखा जुध्यो । प्रदीप मञ्चबाट केही पर बसिरहेका थिए । उनी फिसिक्क हाँसे र केही लेखेजस्तो गरे । एकैछिनमा उनले लेखेको कागजको चिर्कटो मेरो हातमा आइपुग्यो । ‘तपाईंले स्टेज छोड्नुहोला ।’ चिर्कटोमा लेखिएको थियो । मलाई अचम्म लाग्यो । एकैछिनमा ईश्वर पोखरेलबाट त्यस्तै अर्को चिट आयो । छिनमै माधव नेपालले त्यही बेहोराको चिर्कटो पठाए । तीन जना नेताले छिनछिनमै उही कुरा दोहोर्‍याएर त्रस्त बनाए ।

यो सब के भइरहेछ ? मनमनै आफैँलाई सोधेँ ।

के थाहा ? आफैँ उत्तर फर्काएँ र असमञ्जसमा अल्झिएँ ।


वाममोर्चाको बहुमतले मलाई मालेका तर्फबाट वार्तामा राजदरबार पठाउने निर्णय गरेको खबर मैले नै भूमिगत साथीहरूलाई दिइसकेको थिएँ । कहिले मोदनाथ, कहिले सुशील प्याकुरेल त कहिले माधवले छिनछिनमा फोन गरेर सूचना माग्थे । मैले सुशील प्याकुरेलमार्फत सबै निर्णय नेताहरूलाई बताएको थिएँ । वाम घटककै प्रतिनिधि लीलामणि पोखरेलले भने आरके जबरजस्ती राजदरबार गयो भन्ने सूचना दिएका रहेछन् । सहाना सुरुदेखि नै मप्रति सकारात्मक थिइन् । यसर्थ पनि सहानासँगै म राजदरबार जाँदा आफूलाई सहयोग हुनेमा उनी ढुक्क थिइन् । सहानाकै चाहनाका कारणसमेत म राजदरबार जाने प्रतिनिधि बन्न सकेको थिएँ । तर, यही कुरालाई लिएर मेरै पार्टीभित्र गडबड भइसकेको रहेछ ।

२६ चैतमा राजासँग सहमति गरेर फर्किन नपाउँदै मालेका एकथरी नेताहरू मसँग रिसले चूर भइसकेका रहेछन् । आन्दोलनमा जनता थपिने क्रम बढिरहेकै थियो । २६ गते दिउँसोसम्म आइपुग्दा आन्दोलनकारीको संख्या ठूलै भइसकेकाले केही दिन यसरी नै अघि बढ्दा जनताले राजदरबार घेर्ने र गणतन्त्र आउने उनीहरूको विश्लेषण रहेछ । कांग्रेससँग आधिकारिक रूपमा निरंकुश राजतन्त्र समाप्त पार्ने सहमति भए पनि जनता सडकमा उर्लिएमा गणतन्त्र घोषणा गर्ने कुरामा पार्टीभित्र एकमत थियो । तर, मेरो मूल्यांकन फरक थियो । कांग्रेसको समेत सहमतिमा आन्दोलनले उचाइ छोएकाले उसले खुट्टा झिकिदिएमा आन्दोलन अघि नबढ्ने मेरो बुझाइ थियो । करिब ५० दिनको आन्दोलनको समीक्षाले यही देखाउँथ्यो । चैत २६ सम्म आइपुग्दा आन्दोलनकारीको संख्या बढ्नुमा कांग्रेसको भूमिका पनि ठूलो थियो ।

देशभित्र कांग्रेसको प्रभाव वामपन्थीहरूको भन्दा कम भए पनि कमजोर भने थिएन । यही वस्तुगत यथार्थका कारण मैले कांग्रेस पछि हट्दा आन्दोलन चोटिलो ढंगले अघि नबढ्ने निष्कर्ष निकालेको थिएँ । मेरो निष्कर्षलाई ठूलो कमजोरी ठाने सहयोद्धाहरूले ।

मालेभित्र मदन भण्डारीलगायत केही कमरेडहरूको बुझाइ आरके मैनाली खुला मोर्चाबाट नहोमिएको भए आन्दोलन यहाँसम्म आइपुग्न मुस्किल थियो भन्ने पनि थियो । हुन पनि त्यसबेला मानिसहरू माले भन्नासाथ आरके, सीपीलाई नै बुझ्थे । त्यसैले भूमिगत नेताहरूलाई दरबारसँगको वार्तामा माले सहभागी छैन भन्न अप्ठ्यारो थियो । म पार्टीकै निर्णयानुसार वाम मोर्चाको सदस्य र त्यसपछि कार्यवाहक अध्यक्ष भएको थिएँ । यही हैसियतले राजदरबारमा वार्ता गर्न गएको थिएँ ।


पार्टीभित्रका केही नेताहरूले आरकेले आन्दोलनलाई गणतन्त्रमा जान दिएन भन्ने अवस्तुवादी मूल्यांकन गर्न भ्याइसकेका रहेछन् । आन्दोलन वामपन्थीहरूको मात्र थिएन । साथै, गणतन्त्रका लागि लक्षित पनि थिएन । निरंकुशताविरोधी मात्र थियो भन्ने उनीहरूले भुलेछन् । तर, जति उपलब्धि प्राप्त हुँदै थियो, त्यो पनि म र सहानाजीको जोडबलबाट थियो । हामी दुई जना राजदरबार नगएको भए राजा वीरेन्द्रले पञ्चायत पूरै विघटन नगरी बहुदलीय पञ्चायत मात्र दिन लागेका थिए । कांग्रेस सभापति र महामन्त्रीले त्यसमा समर्थन जनाइसकेका थिए । गणेशमान सिंह, सहाना प्रधान र मेरो प्रयत्नका कारण मात्र राजा क्रमश: पञ्चायत विघटन गर्न राजी भएका थिए । तर, यथार्थ नबुझी सहयोद्धाहरूले मलाई स्टेजबाट हट् भनिरहेका थिए । पार्टीका पक्षमा इमानदार पहल गरेकाले यस्तो विरोध होला भन्ने मैले कल्पनै गरेको थिइनँ ।

…तर, सहकर्मीहरूले आरकेको एकसूत्रीय मिसन निरंकुश राजतन्त्रको अन्त्य नै हो भन्ने बुझिदिएनन् । कतिसम्म दबाब आयो भने मञ्चबाट हट्नुभएन भने जनताले प्रतिकार गर्नेछन् भनेर चिट पठाउन थाले । सायद मलाई मञ्चबाट हटाउन मदन भण्डारीको पनि सहमति थियो । मदन र मेरो लामो समयदेखि भेट हुन सकिरहेको थिएन । अन्य सहकर्मीहरूले मेराविरुद्ध कुरा लगाएर उहाँलाई विरोधी बनाइसकेका थिए । तर, मदनको सबभन्दा सबल पक्ष के थियो भने उनी एकोहोरो कुरा कमै सुन्थे ।


आमसभाको त्यो दिन ममाथि कोही जाइलागे त्यो जनलहरमा एक वचन ‘यो मण्डले हो’ मात्रै भन्दिएमा उनीहरू कोही पनि बच्दैनथे । किनभने, उनीहरूलाई मालेका नेता भनेर सार्वजनिक रूपमा कसैले चिनेका थिएनन् । म आन्दोलनकारी रापताप भएको नेताका रूपमा स्थापित भइसकेको थिएँ । मेरा कुरा जनसमुदायले सजिलै पत्याउँथे । त्यही सभामा गिरिजाप्रसादले ‘यो कांग्रेसको पनि जित, पञ्चायतको पनि जित’ भनेर भाषण गर्दा आन्दोलनकारीले ढुंगामुढा गरेका थिए भने मजत्तिको क्रान्तिकारीले मण्डले भनिदिँदा हुने परिणाम जोकोहीले आकलन गर्न सकिन्छ । मालेका केही भूमिगत नेताहरूले मञ्चबाट बाहिर निकाल्नेसम्मको अपमान गरे पनि मैले संयम गुमाइनँ । टुँडिखेलमै पार्टीको विवाद गाईजात्रे शैलीमा देखाउनु जेल/नेल भोगेर निस्किएको मजस्तो व्यक्तिका लागि शोभनीय विषय थिएन ।

पार्टीमाथिको प्रतिबन्ध फुकुवा भएको १८ घन्टा नबित्दै मारामार हुँदा अपाच्य सरम हुन्थ्यो । यथार्थ नबुझेरै मलाई पार्टीले कारबाही गर्न सक्थ्यो । यसले राष्ट्रिय राजनीतिक मोडमा नकारात्मक प्रभाव पार्न सक्ने विश्लेषणपछि व्यक्तिगत प्रतिष्ठाभन्दा पार्टीगत प्रतिष्ठा बचाउनु कर्तव्य ठानेँ र मञ्चबाट बाहिरिने निधो गरेँ ।

…बेलुकी थाहा भयो, सभामा मालेका तर्फबाट झलनाथ खनालले बोल्न खोज्दा जनताले हुटिङ गरेर विरोध गरेछन् । सहानाले ‘ झलनाथजी मालेकै नेता हुन्, आरके बिरामी परेर आउन नसकेकाले उनी आएका हुन्’ भनेपछि मात्र झलनाथलाई बोल्न दिइएछ । मालेका साथीहरूले तेस्रो पर्चामा जे–जे लेखेका थिए, झलनाथले तिनै बुँदा पढेर भाषण गरेछन् ।

म मञ्चबाट अचानक हिँडेको बारे विभिन्न अड्कलबाजी भए । बेलुकासम्ममा प्रस्ट भयो, साथीहरूले मलाई वार्ताको जस नदिन मात्र चाहेका रहेछन् । म मञ्चबाट बाहिरिएपछि मालेका प्रतिनिधिका रूपमा सभामा सम्बोधनका लागि झलनाथलाई पठाउनुले यही संकेत गथ्र्याे ।

जालझेलको सिकार
मलाई मञ्चबाट हटाएको तीन दिनपछि अर्थात् ३१ चैतमा काठमाडौँको टोखामा केन्द्रीय कमिटीको बैठक बस्यो । पहिलो दिनको बैठकमा मलाई बोलाएनन् । त्यहाँ मलाई निलम्बन गर्नेदेखि जिम्मेवारीबाट हटाउनेसम्मका कुरा उठेछन् । बैठक सुरु भएको भोलिपल्ट महासचिव मदनले फोनमा भने, “तपाईंलाई लिन गाडी आउँदै छ, तुरुन्तै आउनु होला ।” “कहाँ आउनू ?” मैले सोधेँ । उनले गाडीले जहाँ ल्याउँछ, त्यहीँ आउनू भन्ने जवाफ फर्काए । केही बेरपछि केपी ओलीले फोन गरे । “गाडी लिन आउँदै छ भन्ने खबर पायौ होला । यहाँ आएपछि नम्र भएर सविस्तार प्रस्तुत हुनु । अररा कुरा नगर है,” केपीले भने, “यहाँ तिम्राविरुद्ध षड्यन्त्र भइरहेको छ । साथीहरू साह्रै कठोर भएका छन् । हात छोड्न सक्छन् ।” “हातै छाडे भने त म पनि कहाँ कम हुँला र !” मैले फुर्ती जोड्दै भनेँ । आफूले आन्दोलनमा जे गरेँ, इमानदारीसाथ गरेकाले प्रतिरक्षा गर्न सक्छु भन्दै मैले केपीलाई चिन्ता नलिन सुझाएँ । त्यसपछि कैयन् कुरामा केपीसँग मतभेद भए पनि त्यस बेलासम्म उनी आत्मीय नै थिए ।

निर्धारित स्थानमा पुगेर बैठकमा सहभागी भएपछि मैले डेढ घन्टा आन्दोलनकालको यथार्थ भट्याएँ । सबालजवाफ कसैले गरेनन् । कांग्रेसलाई छाडेर आन्दोलन नउठ्ने, विदेशी हतियार ल्याएर पञ्चायत नढल्नेजस्ता मनमा लागेका तर्क प्रस्तुत गरेँ । आन्दोलन गणतन्त्रका लागि अघि बढोस् भन्ने साथीहरूको नियत असल भए पनि त्यो मनोगत भएको भन्दै यथार्थ व्याख्या गरिदिएँ । मेरो कुरा सुनेपछि मदनलाई सकस र अप्ठ्यारो भएछ । किनभने, मलाई निष्कासित गर्ने मोटामोटी सहमति अघिल्लो दिनको बैठकमै बनिसकेको रहेछ । मलाई कारबाही गर्दा देशव्यापी रूपमा गलत सन्देश जाने चिन्ता मदनमा उम्रिएछ । पार्टी खुला हुनेबित्तिकै नाम चलेको नेतालाई कारबाही गर्दा कार्यकर्तामा निराशा आउने, कांग्रेसमा पनि आफूप्रति नराम्रो छाप पर्ने यथार्थ मदनले बुझेका रहेछन् ।

थप आन्दोलनमा कांग्रेससँगै गएर बहुदलीय व्यवस्था सुदृढ गर्न, संयुक्त सरकार बनाउन र संविधान जारी गर्दै निर्वाचनमा सहभागी हुने बाटो बाँकी थियो । मैले बैठकमा यही कुरा राखेँ । तत्काल गणतन्त्र स्थापना गर्ने नारालाई कार्यनीति बनाउँदा निस्कने अवस्तुवादी प्रभावबारे मदन सचेत रहेछन् । उनको बुझाइ र मैले राखेका तथ्यबीच मेल खायो । मेरो प्रस्तुतिले उनलाई घोचेछ । त्यसैले मदनले मलाई निलम्बन हुन दिएनन् । संयुक्त वाममोर्चामा मालेका तर्फबाट मेरो स्थानमा झलनाथलाई ल्याएर यसलाई नै मप्रतिको राजनीतिक कारबाही ठानियो । मलाई वाममोर्चाको दोस्रो प्रतिनिधि मात्र बनाइयो ।

वास्तवमा झलनाथको ध्येय संयुक्त वाममोर्चामा प्रतिनिधित्व गर्ने थियो । किनभने, उनलाई त्यसपछिको मन्त्रिपरिषद्मा सामेल हुनु थियो । मलाई लडाएपछि मात्र उनी त्यहाँ पुग्न सक्थे । मन्त्रिपरिषद्मा सहभागी हुने वातावरण बनाउनकै लागि उनले यस्तो जाल रचेका रहेछन् । यो दाउपेचको स्ट्राइकर प्रदीप नेपाल, ईश्वर पोखरेल र माधव नेपाल थिए । मदनलाई यसबारेमा धेरै जानकारी रहेनछ । त्यस बेलासम्म उनीहरूका भित्री योजना मदनले बुझेका रहेनछन् । यसर्थ, यस समूहले गरेको डिजाइनमा मदन सहमत भएछन् । मलाई पछाडि पार्दा सीपीलाई समेत साइजमा ल्याउन सक्ने उनीहरूको निचोड रहेछ । उनीहरू सीपीसँग पनि रूष्ट थिए । सीपीको दाजु भएकाले पनि मलाई उनीहरूले तारो बनाएछन् । दाजुभाइ मिल्छन् भन्ने भय उनीहरूलाई रहेछ ।

चार नेताले बनाएको ‘डिजाइन’ अन्तर्गत नै झलनाथ ६ वैशाख ०४७ मा कृष्णप्रसाद भट्टराईको नेतृत्वमा गठित अन्तरिम मन्त्रिपरिषद्मा सहभागी भए । संविधान सुझाव आयोगको सदस्य बन्ने माधवको दाउ पनि सफल भयो ।

प्रधानमन्त्री बन्न मानेनन्, गणेशमान
लोकेन्द्रबहादुर चन्दले ४ वैशाख राती पदबाट राजीनामा दिएपछि रिक्त पदमा दरबारबाट गणेशमान सिंहलाई प्रधानमन्त्री बन्ने प्रस्ताव आयो । गणेशमानले राजदरबारको प्रस्ताव स्वीकारेनन् । त्यो खबर संयुक्त वाममोर्चाको अध्यक्ष सहाना प्रधान हुँदै वाममोर्चा बैठकभित्र प्रवेश गर्‍यो । यसपछि सहाना र म गणेशमानलाई प्रधानमन्त्रीको जिम्मेवारीमा मनाउन उनको निवास चाक्सीबारी गयौँ । गणेशमानलाई मनाउन गएका हामी उनको तर्कसामु आफैँ नतमस्तक बन्यौँ । उनले मीठो तर्क गर्दै हामीलाई भनेको म अहिले पनि सम्झन्छु, “सहाना तिमीहरू कांग्रेसलाई चिन्दैनौ । कांग्रेस गज्जबको पार्टी हो ।” सहानाले सोधिन्, “किन ?” गणेशमान भन्दै गए, “म काठमाडौँको नेवार । यहाँ अरू दुई जना वरिष्ठ बाहुन छन्, कृष्णप्रसाद र गिरिजाप्रसाद । यदि म प्रधानमन्त्री बनेँ भने यी दुई जना बाहुन मिल्छन् र प्रधानमन्त्री भएको दुई–चार दिनमै मलाई घिक्लिक्क लडाउँछन् । यसपछि कांग्रेसभित्र विवाद हुन्छ । राजदरबारले त्यही चाहिरहेको छ । संविधान पनि बन्दैन । संविधान बनाउनकै लागि म प्रधानमन्त्री बन्दिनँ ।”

रहस्यमै दासढुंगा घटना                                                                 
३ जेठ ०५० मा चितवनको दासढुंगामा भएको जिप दुर्घटना नेपाली राजनीतिक इतिहासमा पहेलीकै रूपमा छ । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित मारिएको उक्त घटना छानबिनका लागि सरकारदेखि आफ्नै पार्टी एमालेसम्मले आयोग बनाए । तर, कुनै पनि आयोगले सुनियोजित हत्या वा दुर्घटना के हो भन्ने किटान गर्न सकेनन् ।

नेकपा एमालेले केपी ओलीको अध्यक्षतामा गठन गरेको छानबिन आयोगले दासढुंगा काण्डबारे एक पेजको रिपोर्ट तयार गरेको थियो । अहिले त्यो रिपोर्ट कहाँ छ ? कसैलाई थाहा छैन । रिपोर्ट पार्टीलाई बुझाए/नबुझाएको पत्तोसमेत छैन । ०५१ को एमाले सरकारमा केपी गृहमन्त्री छँदा पनि दासढुंगा काण्डबारे केही भरपर्दा सूचना हात परेका थिए । सूचनाको एउटा दृश्य यस्तो थियो, ‘मदन–आश्रित सवार गाडीको पछिपछि एउटा ट्रक आइरहेको थियो । त्यस ट्रकको चालकले मदनहरू सवार गाडी त्रिशूलीमा खसेको देख्यो । खसिरहेको गाडीबाट सुरुमै एक जना व्यक्ति बाहिरियो । त्यसपछि ऊ नदी किनारमा पुगेर आफ्नो जीउमा पानी छर्कंदै सडकतिर उक्लियो ।’ मोरङका पार्टी कार्यकर्ताले केपीलाई यस्तो रिपोर्ट गरे पनि उनले ठाडो कान लगाएनन् ।


भारत, नक्सलबाडीमा डेरा गरी बस्ने एक जना व्यक्तिले भनेको कुरा उद्धृत गर्दै अर्का झापावासीले केपीलाई यस्तो रिपोर्ट दिएका थिए, ‘हामीले नेपालमा ठूलो दुर्घटना गरायौँ । तर, त्यसबापत पाउनुपर्ने जति रकम पाएनौँ ।’ केही समयपछि त्यो मानिस नक्सलबाडीबाट अन्यत्रै गयो रे ! सो व्यक्तिको थर, ठेगानै दिएका थिए, झापाका साथीहरूले । तर, कतैबाट चासो देखाइएन ।

०५३ मा लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारमा एमाले नेता वामदेव गौतम गृहमन्त्री थिए । दासढुंगा घटनाको खोजबिन गर्न सहयोग गर्ने व्यक्ति कोही छन् भनेर वामदेवले कुरा उठाए । अनि, मैले गुप्तचरी स्वभावका अवकाशप्राप्त प्रहरी इन्स्पेक्टर नरहरि संग्रौलाको नाम दिएँ । उनी केपीका सहपाठीसमेत हुन् । म, केपी र वामदेवकै सल्लाहमा नरहरिलाई प्रथम श्रेणीको सुविधा पाउने गरी राष्ट्रिय अनुसन्धान विभागको सल्लाहकारमा नियुक्त गरियो ।

खासमा नरहरि दासढुंगा घटनाको अनुसन्धान गर्ने गुप्त योजनासहित नियुक्त भएका थिए । दासढुंगा काण्ड अपराध हो वा दुर्घटना निक्र्योल गर्न उनलाई ल्याएका थियौँ, हामीले । तर, यो नियुक्तिको उग्र विरोध भयो । नेपाली कांग्रेसले संसद् ठप्प पारिदियो । नरहरि प्रहरीमा छँदा उनीमाथि लागेका भ्रष्टाचारलगायतका जम्मै मुद्दा र आरोपहरू उछालियो । भलै ती आरोपबाट उनले पहिल्यै सफाइ पाइसकेका थिए । त्यसपछि २५ दिनमै उनको नियुक्ति रद्द गर्नुपर्‍यो ।


अर्को कुरा दासढुंगा काण्डका एक मात्र जीवित साक्षी अमर लामाको पाँच वर्ष जेल बसेर निस्किएपछि हत्या गरियो, ०६२ असारमा । अमरलाई तत्कालीन माओवादीले मारेको भनिए पनि त्यो कुरा माओवादीले आजसम्म स्वीकारेको छैन । सत्यतथ्य थाहा हुने अमरलाई लखेटी लखेटी गोली हानेर मार्ने शक्तिको थियो ? हत्या किन गरियो ? यी सबै घटनाक्रमले दासढुंगा योजनाबद्ध रूपमा भएको घटना हो भन्ने अनुमान लगाउन कठिन छैन । त्यो काण्ड राष्ट्रिय स्तरमा क्षति पुर्‍याउने गम्भीर षड्यन्त्र थियो ।

एमाले नेता राधाकृष्ण मैनालीको संस्मरणात्मक पुस्तक नलेखिएको इतिहासबाट साभार 

प्रकाशित : बिहिबार, फागुन ०३, २०७४१८:५३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

प्राचीन बस्ती कुमारीगाल र यस क्षेत्रमा रहेका देवी देवताहरु